arrow

चीनले बढायो ताइवानमाथि दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
China-Taiwan-1618306033.jpg
तस्बिर – फाइल ।

ताइपेई । ताइवानमाथि निरन्तर सैन्य एवं कूटनीतिक दबाब बढाएको चीनले अब मनोवैज्ञानिक दबाब पनि बढाइरहेको छ । स्वशासित ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा लिएको बेइजिङले ताइपेइमाथि पुनः  नियन्त्रण कायम गर्ने मनसुवा निरन्तर व्यक्त गर्दै आएको छ  । 

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग पुनःएकीकरण हुनैपर्नेमा जोड दिँदै आएका छन् भने  देशको पुरानो प्रान्तलाई मुख्यभूमिमा गाभ्न आवश्यक परेमा बल प्रयोग गर्न पछिनपर्ने चेतावनी पनि दिँदै आएका छन् । यद्यपि आफ्नै संविधान र प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार भएको ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा पृथक मान्दै आएको छ । 

चीनले आइतबार बिहानैदेखि ताइवान वरिपरि २८ वटा लडाकु विमान उडाएको छ । ताइवानी  अधिकारीहरूका अनुसार अधिकांश ती विमानले ताइवान र चीनको मुख्य भूमिलाई छुट्याउने जलमार्गको मध्य रेखा पार गरेर स्वशासित टापुको दक्षिणपूर्व र दक्षिणपश्चिम हवाई प्रतिरक्षा  क्षेत्रमा प्रवेश गरेका छन् । 

चीनले लामो दूरीका अभ्यास र तालिम ‘मिसन’सञ्चालन गरिरहेको तथा तिनले ताइवानी रक्षा स्थितिको निगरानी गरिरहेका ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । पछिल्ला चिनियाँ गतिविधिले बेइजिङ र ताइपेईको सम्बन्ध अनपेक्षितरुपमा चिसिएको छ । 

गत हप्ता साता पनि चिनियाँ लडाकु विमान र जहाज ताइवानी जलक्षेत्र र आकाशमा बारम्बार उडाइएका थिए । बेइजिङले यस महिना ताइवान ‘स्ट्रेट’बाट संयुक्त राज्य अमेरिका र क्यानडाका दुईवटा जहाज पार भएपछि बेइजिङले आफ्ना सेनाहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको बताइएको छ । 

ताइवानको रक्षा मन्त्रालयले गत बुधबार र बिहीबार बिहान पनि टापुको वरिपरि ६८ चिनियाँ विमान र १० नौसैनिक जहाज निरन्तर उडाएर निगरानी गरेको बताएको थियो । गत डिसेम्बर प्रायः दैनिक रुपमा चीनले ७० भन्दा बढी लडाकु विमान ताइवान वरपर उडाएको थियो । 

गत अप्रिलमा ताइवानका राष्ट्रपति साई इङ्गवेनले क्यालिफोर्नियामा अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि बेइजिङले ताइपेईमाथि एक किसिमको घेराबन्दी गरेर सैन्य अभ्यास गर्दै आएको छ । 

अमेरिकासँग नजिक रहेको ताइपेईमाथिको बेइजिङको दबाब सामान्य भएको सैन्य विश्लेषकहरू बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ