काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राज्यले लाखौँ शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नु नहुने बताएका छन् । काठमाडौँमा देशभरका शिक्षकहरू आन्दोलनमा उत्रँदा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन् । उनले लेखेका छन्, 'शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ । वर्षौँपछि निर्माण हुँदै गरेको सङ्घीय शिक्षा ऐन मार्फत वर्षौँदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ । हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौँ शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।'
उनले थप अर्को ट्वीटमा लेखेका छन्,' प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने/ गराउने कर्तव्य राज्यको हो l प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो l अत संवाद मार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारु गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल !'