arrow

वीपीले परिकल्पना गरेको समावेशिता व्यवहारमा छैन, पहुँचवालाको बोलवाला छ: चित्रलेखा यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
chitralekha-yadhav.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी पूर्व उपसभामुख चित्रलेखा यादवले वीपी कोइरालाले ७० वर्ष अघि परिकल्पना गरेको समावेशिता र सामाजिक रूपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको बताएकी छन्।

नेपाली कांग्रेसले वीपी कोइरालाको स्मृतिमा कांग्रेसको केन्द्रीय कार्यालय बी.पी. नगर ललितपुरमा आयोजित ‘समावेशिता, सामाजिक रूपान्तरण र वीपी’ विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै पार्टीको पूर्व कोषाध्यक्ष समेत रहेकी यादवले आज जो प्रधानमन्त्री भयो, उसैको निर्वाचन क्षेत्रमा बजेट फालाफाल हुने र पहुँचवालाकै बोलवाला चल्ने गरेको बताइन।

उनको प्रश्न थियो ‘आज जो पहुँचवाला छैन, उसको जिल्ला वा निर्वाचन क्षेत्रमा केही हुँदैन, के यही हो त वीपीको समावेशिता? यही हो राजनीतिक रूपान्तरण?’

नेतृ यादवले नेपाल आज युवा शक्ति निर्यात गर्ने देशको रूपमा चिनिएको भन्दै आफ्ना कमीकमजोरीलाई सुधार्न वीपीको महोत्सवमा सहभागीहरूले दिएको सल्लाहलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिइन्। उनले भनिन्, ‘यो देश लोकतान्त्रिक गणतन्त्रको देश हो भनेर चिनाउन समावेशिता र रूपान्तरणको अभियानलाई मूर्त रूप दिनु पर्छ।’

साहित्यकार तथा वाम बुद्धिजीवी आहुतिले नेपाली समाज जात व्यवस्थामा आधारित भएको र नेपाली कांग्रेसले आफ्नो समाजवादी कार्यक्रम २००८ सालमा ल्याए पनि त्यसलाई अझै पनि पूर्ण रूपमा कार्यान्वयन नगरेको बताए। 

संविधानसभा सदस्य समेत रहेका आहुतिले वर्ण व्यवस्था मान्ने कि नमान्ने भन्ने कुरा व्यक्तिलाई छोड्न पर्छ भनेर कांग्रेसको समाजवादी सिद्धान्तमा उल्लेख भएको बताए । उनले भने, ‘२००९ सालमा धनमानसिंह परियारलाई कांग्रेसले महासचिव बनाए पनि २०१५ आम निर्वाचनमा उनी उम्मेदवार समेत बनेनन्। 

उनले २०१६ सालको महासभामा कांग्रेसले १३ जनालाई पठाएको भन्दै त्यसमा पनि धेरै जसो उच्च हिन्दु समुदायका नै रहेको भन्दै वीपीले बिर्ता उन्मुलन २०१६ सालमा गरे तर त्यसपछि भूमिहीन किसानले केही पनि नपाएको बताए। 

‘कांग्रेसले उत्पीडितको व्याख्या गर्न सकेन। वीपीले राष्ट्र भनेको जनता भनेर पञ्चायतविरुद्ध आन्दोलन गरे। तर हालको संविधान लेख्दा नेपाली समाज अनुरूप केही लेखियो ती सबै राज्यका निर्देशक सिद्धान्तमा समेटिएको छ। राज्यका निर्देशक सिद्धान्तमा भएका जनताका अधिकार कार्यान्वयन अनिवार्य छैन’, आहुतिले भने।

डा. लालबहादुर पुनले संविधानले समावेशिताको र सामाजिक रूपान्तरणको विषय उठान गरे पनि कार्यान्वयन हुन नसकेकोमा जोड दिए। 

कार्यक्रम संयोजक वरिष्ठ पत्रकार हरिबहादुर थापाले नेपाली कांग्रेसले आफ्नो सङ्गठनको प्रारम्भमा २००९ सालमा धनमानसिंह परियारलाई पार्टी महामन्त्री, रामनारायण मिश्र, परशुराम चौधरी, प्रेमराज आंगदम्वे, सूर्यनाथ दास यादव, जमानसिंह राइलाई आफ्नो मन्त्रिपरिषद्मा राखेर समावेशितालाई व्यवहारमा देखाएको बताए। 

वीपीपछिका राजाहरूले भगवतिप्रसाद सिंहलाई मन्त्री, अनिरुद्ध प्रसाद सिंहलाई न्यायाधीश, नागेश्वर प्रसाद, देवानन्द झालाई मन्त्री बनाएको दृष्टान्त प्रस्तुत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ