arrow

एमाले बागमती प्रदेश अधीवेशनमा नेतृत्वका लागि पाँच आकाङ्क्षी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
bagmati-pradesh-province-3.jpg

काठमाडौं । एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा सम्पन्न हुने मिति नजिक आउँदै गर्दा नेतृत्वका लागि स्थानीय नेताहरूको  आकाङ्क्षा बढेको छ ।  
शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन सत्र हुने र त्यहाँबाट नेतृत्व चयन हुने भएपछि बाग्मतीको नेतृत्वको लागि पाँच जना आकाङ्क्षी रहेका हुन् । रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, नुवाकोटका केशव पाण्डे, काठमाडौका सानु श्रेष्ठ र चितवनका कृष्णभक्त पोखरेलले आकाङ्क्षा राखेका छन् । 
शुक्रवार पार्टी कार्यालय च्यासलमा बाग्मती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज ८ गते अधिवेशनको उद्घाटन गर्ने जानकारी दिएसँगै अधिवेशनको रौनक थपिएको छ । अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भएको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भइसकेको छ । एक हजार दुई सय प्रतिनिधिले भाग लिने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।     
अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मत रूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुन सक्ने बताए । उनले भने, ‘मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुँदै छ । यसमा स्वाभाविक रूपमा चासो र आकर्षण हुन्छ । प्रतिनिधिहरू आइसकेपछि उहाँहरूको भावनाअनुसार हामी अघि बढ्छौँ । तर, बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा हामीमा छैन । पार्टीको नेतृत्वबाट पनि यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश आएको छैन । यो प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको निर्णय हो । मुख्य कुरा पार्टीको लक्ष्य र गन्तव्यअनुसार हामी प्रभावकारी रूपमा चल्ने भन्ने नै हो ।’  
हालका अध्यक्ष केशव पाण्डेलाई व्यवस्थापन गर्न सके ढुङ्गेललाई अघि सार्ने तयारी छ । यसैगरी पोलिटब्यूरो सदस्य अरुण नेपाल पनि अध्यक्षमा दाबी गरिरहेका थिए । तर सिन्धुपाल्चोककै सुवास कर्माचार्यले सचिवमा दाबी गरेपछि उनी पछि हटेका छन् । उनी भर्खरै नेकपा एसबाट एमालेमा समाहित भएका हुन् । खेम लोहनी, रचना खड्का, भूमि त्रिपाठी लगायतले पनि प्रदेश अध्यक्षमा हल्ला गरिरहेका छन् । तर उनीहरूको सम्भावना निकै कमजोर रहेको छ । उपसचिवको दाबी गर्दै  दोलखाका डबल पाण्डे पार्टी अध्यक्ष केपी शर्मा ओलीको अघिपछि कुदिरहेका छन् । पार्वत गुरुङले उनलाई व्यवस्थापन गर्न खोजिरहेका छन् । 
पदाधिकारीकै भूमिकामा रहेका अध्यक्ष पाण्डे र सचिव विजय सुवेदी दुवैजना वर्तमान प्रदेश अध्यक्ष बन्ने तयारीमा लागेका छन् । अध्यक्ष पदमै रहेका पाण्डे दोहोर्‍याउने सोचमा छन् भने सुवेदी सचिवबाट अध्यक्ष बन्ने दाउमा छन् । तर सन्तुलन मिलाउने भन्दै यसपटक उनीहरूलाई अर्को जिम्मेवारीका थन्क्याउन लागिएको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ