arrow

बाको तस्बिरले मलाई हेरिरहेको छ 

logo
छविरमण सिलवाल, 
प्रकाशित २०८० असोज १३ शनिबार
chhabiraman-silwal-2080-06-.jpg

हो, म यतिबेलै सम्झन्छु
बालापनको झझल्को 
घरमा भरिएको मकैको घोगा
खेतमा लहलहै झुलेको धानका बाला 
दिनभरिको कामबाट थाकेर 
घर पुगेका बाको मुहार ।

यसपालि दशैँको गर्जो कसरी टार्ने भनेर 
आमासँग कुरा गरिरहेको दृश्य 
आमाको कानको शोभा बढाएका 
ढुङ्री र गलाको तिलहरी 
बाँडा कहाँ बन्धक राखेर 
दशैँको गर्जो टारेको व्यथा ।

एक भारी लुगाको कुम्लोसँग ऋणको कुम्लो बोकेर
देखावटी मुस्कानमा बा घर आएको क्षण 
नयाँ लुगा पहिला सिलाउन हामीले गरेको हानथाप 
नयाँ लुगा लगाएर पूरै गाउँ घुमेको क्षण ।

हामी रोइदिन्थ्यौँ 
बाले मुठ्ठी चिउरा दिएर फकाउँदा  
हामी दङ्ग परेर खुशीले उफ्रिन्थ्यौँ 
बा कसरी दशैँको रिन तिर्ने भनेर छट्पटिँदा ।
 
हो, म यतिबेला यस्तै बाल्यकालको सम्झनामा हराउने गर्दछु 
मन आनन्दित पनि हुन्छ 
र, सँगै सम्झँदा बाले बोकेको
पीडाको भारी पहाड
थामिनसक्नुको बोझिलो लाग्छ ।

अहिले म सोच्दछु 
बा महान् हुनुहुँदो रहेछ 
आफ्नो दुःख लुकाएर हामीसँगै हाँस्नुहुन्थ्यो 
हामीसँगै रमाउनु हुन्थ्यो  
हाम्रो खुशी खोज्न आफू दुःखका पहाड बोकेर डुल्नुहुन्थ्यो 

दुःखका पहाड बोक्दा बोक्दै
एकदिन सालिक हुनुभयो हाम्रा बा !


बासँगै बिलायो थकानले थिचेको दिक्दारी
अनि सन्तानको मुस्कानले उज्यालिएको अलिकति खुशी 
घरको आँगनबाट ।

यतिबेला सम्झन्छु बाको महानता 
र, अहिले म आफैँ बा भएर छोरासँग आफ्नो खुशी बाँड्दैछु 

उनको हरेक खुशीमा रमाएको छु 
मायाको तलतल मैले मेटेको छु 
बा हुनुको महत्व बुझेको छु ।

तर किन किन हरेक चाडपर्वको पूर्वसन्ध्यामा 
बालापनको झझल्को ताजा बनेर 
अगाडि ठिङ्ग उभिन्छ
अनि मेरा बाको धुमिल बन्दै गएको तस्बिरले 
मलाई हेरिरहेको हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ