arrow

स्थिर सरकार भयो भने विकासले लय पक्रन्छ : अर्थमन्त्री डा. महत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
prakash-mahat-new.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताउनुभएको छ । आइतबार बारा जिल्लामा आयोजित ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सञ्जीवनी बाटिकाको भवनको उद्घाटन गर्दै  मन्त्री महतले भने, ‘स्थिर सरकार भयो भने यो देशमा गर्न सकिने धेरै कुराहरू छन् । तर दुईवटा भाष्यसँग हामी चनाखो हुनुपर्छ । ०४६ सालअघि यहाँ स्वर्ण युग थियो अहिले खत्तम भयो भन्ने भाष्य सामाजिक सञ्जालमा फैलाइएको छ भने अर्को नकारात्मक सन्देश फैलाइएको छ । यसलाई चिर्नुपर्छ ।'

हाम्रो अर्थतन्त्रमा पहिलेदेखि थुप्रिँदै आएको समस्याहरू बारे मन्त्री डा. महतले भने- ‘सहज अवस्थामा कर्जा प्रवाह भयो, प्रतिफल प्राप्त नहुँदा आएका समस्याहरू र पछिल्लो समय ब्याजदर वृद्धि हुँदा उत्पन्न समस्याहरू, नयाँ ऋणी हिचकिचाएको समस्या, ब्याजदर अझै उच्च रहेको समस्या, सेयर बजार सहज हुन नसकेका समस्याहरू, घरजग्गा कारोबार शिथिल भएर उत्पन्न भएका समस्याले गर्दा आर्थिक कारोबार कम भएको छ । तर अब अर्थतन्त्र बिस्तारै लयमा फिर्किदैछ ।’ 

अर्थतन्त्र लयमा फर्किन्छ, यसका ठोस आधार रहेको उनले स्पष्ट पारे । मन्त्री डा. महतले भने, ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ । तर हात परिवर्तन हुन हिचकिचाहट भइरहेको छ । जति धेरै हात परिवर्तन हुन्छ त्यत्ति हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ ।’

पर्यटन आउन थालेका छन् । विदेशी विप्रेषणको प्रवाह पनि राम्रो छ । अब जग्गा कारोबार बिस्तारै बढ्छ । बैङ्किङ समस्या बिस्तारै हट्छन् । राष्ट्र बैङ्कले कतिपय काम गर्न बाँकी छ । राष्ट्र बैङ्कबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने मन्त्री डा. महतले विश्वास व्यक्त गरे ।

‘फास्ट ट्रयाकलाई चाहिने बजेट विनियोजन भएको छ, बजेट अभावले यो आयोजना नरोकिने उनले स्पष्ट पारे। मन्त्री डा. महतले भने, ‘अन्तर्राष्ट्रिय एयरपोर्ट हामीले बनाउनै पर्छ । पहिला बारामै बनाउनुपर्ने थियो । ४५ मिनेटको वरपर संसारभरि नै सहज हुन्छ । निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेका छौँ । सुनकोसी मरिन डाइभर्सनले बारालगायत अन्य जिल्लाको कृषि उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उनले भने, ‘ज्येष्ठ नागरिक वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति सिर्जना भएको छ । समाजको बद्लिँदो स्वरूप व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको अवस्था छ । उत्पादन प्रक्रियामा परिवर्तन आइरहेको छ । बिदेसिनुपर्ने अथवा स्वदेशमै भए पनि अर्को स्थानमा जानुपर्ने बाध्यता छ । यी विविध कारणले वृद्धाश्रमको आवश्यकता, ज्येष्ठ नागरिकको सेवा गर्ने केन्द्रको आवश्यकता खड्किदै गएको छ । यद्यपि हामी हाम्रा आमा बुवा घरबाहिर आश्रित हुनुपर्ने परिस्थिति सिर्जना होस् भनेर हामी कोही पनि चाहँदैनौँ ।’

‘घरभित्रै ज्येष्ठ नागरिकले उचित सम्मान र सेवा प्राप्त गर्न सकुन् । यो नै हाम्रो कोसिस हुनुपर्छ’, मन्त्री डा. महतले भने, ‘यही किसिमको सामाजिक जागरण, कर्तव्य र दायित्वको विषयमा नयाँ पिँढीलाई सुसूचित र शिक्षित गराउन जरुरी छ । परिस्थिति बाबजुद यो अवस्था नभएमा कुनै पनि ज्येष्ठ नागरिक आश्रमविहीन भएर सडकमा पुग्नुपर्ने अवस्था सिर्जना नहोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ