arrow

एमाले गण्डकीको प्रथम अधिवेशन आजदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
uml gandaki.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन आज सोमबारदेखि पोखरामा शुरु हुँदैछ ।

देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकीको अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले गण्डकीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

अधिवेशनको उद्घाटन अघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्‍याली निकाल्ने जनाएको छ ।

एमाले गण्डकीले हस्पिटलचोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट गरेर चार स्थानबाट र्‍याली निकालेर अमरसिंहचौर पुगेपछि उद्घाटन सभामा परिणत हुने जनाएको छ । 

उद्घाटन सभालाई एमालेले शक्ति प्रदर्शनका रुपमा हेरेको छ । 

त्यसैले उसले कास्कीका सबै पालिकाका वडाहरुमा निःशुल्क बसको व्यवस्था गरेको छ । 

कास्की बाहेकका नजिकका जिल्लाका पालिकाहरुबाटपनि बस व्यवस्था गरेर मान्छे उतार्ने तयारी गरेको छ ।

अधिवेशनमा ९०७ जना प्रतिनिधि रहने एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक रश्मी आचार्यले जानकारी दिए । 

उनका अनुसार कास्कीबाट १४६, स्याङ्जाबाट ११३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट ११०, नवलपुरबाट १०९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।

एमाले गण्डकीको अध्यक्षमा आधा दर्जन आकांक्षी छन् ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष नवराज शर्मासहित ६ जनाको दावी छ ।

केही आकांक्षीलाई पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको आशिर्वाद रहेको बताइन्छ ।

अध्यक्षका दाबेदारहरुमध्ये पृथ्वीसुब्बा समूहबाट नवराज शर्मा, धनञ्जय दवाडी, शोभियत ढकाल र राजीव पहारी छन् ।

खगराज समूहबाट भने मायानाथ अधिकारी र कृष्ण थापाको चर्चा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ