arrow

फस्टाउँदो ड्रागन खेती

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
Dragon fruit.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ ।

स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गरेको ड्रागन खेतीबाट रु।आठ लाख बराबरको ड्रागन बिक्री गरिसकेकी छिन् ।

विसं २०७९ वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आठौँ पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताइन् ।

“अझै पनि फार्मबाट करिब छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु”, उनले भनिन् । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उनी बताउछिन् ।

उनले भनिन्, ‘‘यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।” १२ देखि १४ पटकसम्म फल दिन सक्ने उनको आशा रहेको छ ।

उनलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उनले बताइन् । वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ ।

‘‘कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ’’, उनले भनिन् ‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।’’

उत्पादित ड्रागन प्रतिकिलो पाँच सयदेखि छ सयसम्म बिक्री हुने गरेको उनले बताइन् । करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताए ।

बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उनले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाएकी छिन् ।

उनले गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थियो । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् ।

एउटा पोलमा करिब १० हजारका दरले खर्च भएको उनको भनाइ छ । त्यसैगरी कृषक गौलीले यस वर्ष तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन् ।

प्रतिबिरुवा दुई सयदेखि पाँच सयसम्म बिरुवा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् ।

उनको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् । त्यसैगरी कृषक गौलीले नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको गुनासो गरेकी छिन् ।

चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ रहेको छ ।

निमपत्ता, असुरो, तीतेपाती, खिर्रो, बनमासा, सिमाली र गौमुत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको उनले बताइन् ।

सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी छिन् ।

व्यास नगरपालिका-३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छिन् ।

स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ