- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कसाभा, केसभा, क्यासभा, टापोइका युका, मान्डाइयोका, मानाइयोका लगायतका विभिन्न नामले चिनिने एक वनस्पति जसको वैज्ञानिक नाम मेनिहट इस्कुलेन्टा ग्रान्ज हो । यसलाई पूर्वी नेपालमा सिमल तरुलका नामले चिनिन्छ । यो एक किसिमको तरुल हो वा कन्दमूल हो । यसको पात सिमलको जस्तो हुन्छ । जरामा तरुल फल्छ । यसको उचाइ एकदेखि डेढ मिटरसम्म हुन्छ ।
यसको प्रयोग खाद्यवस्तु, औषधी, कस्मेटिक र पोलिमर उत्पादनमा हुन्छ । चीनमा कसाभाबाट करिव ५० किसिमका खाद्य परिकार बनाइन्छ । यसको प्रयोग प्लाइउड बनाउनमा पनि हुन्छ । यसैगरी कागज, कपडा र मादकपदार्थ बनाउनमा पनि यसको प्रयोग हुन्छ । यसमा स्टार्चको मात्रा ४० प्रतिशतसम्म पाइने हुनाले खाद्य, पशुदाना र औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ ।
यसलाई विश्वको छैटौँ मुख्य बालीका रूपमा लिइन्छ तर अफ्रिकामा भने यो पहिलो बाली हो । हाल विश्वमा करिब ८० करोड मानिसको दैनिक भोजनको व्यवस्थापन कसाभाबाट गरिन्छ । यो बाली सामान्यतया भूमध्य रेखाबाट ३० डिग्री उत्तर र दक्षिणमा उत्पादन गर्न सकिन्छ ।
नेपालको भौगोलिक संयोजन हेर्दा यो २८.४ डिग्री उत्तर र ८९.१ डिग्री पूर्वमा पर्ने भएकाले यो कन्दमूल देशैभर उत्पादन गर्न सकिन्छ । तर नेपालको स्थानीय हावापानी अनुसार हेर्दा हजार मिटरको आसपाससम्म राम्रै उत्पादन हुन्छ । तर कसैकसैले उच्च पहाडमा पनि उत्पादन गरेको पाइन्छ । तर व्यावसायिक उत्पादनका लागि भने पानी नजम्ने र एक हजार मिटरसम्म उचाइ भएको जमीन असल मानिन्छ ।
अरु बालीको खेती गर्न नसकिने बन्जर, रुखो र अत्यन्त सुख्खा माटोमा यसलाई खेती गर्न सकिन्छ । माटोको मापन पनि ३ देखि ८ पीएच सम्ममा पनि यस कन्दमूलले उत्पादन दिन्छ ।
वर्षमा चार सय मिलिमिटर वर्षा भए पनि यसलाई पुग्छ । त्यसैले यसलाई अन्य बाली नलाग्ने चुरे पहाडजस्ता जमीनमा खेती गरेर कमाइ गर्न सकिन्छ । पश्चिमा मुलुकहरू तथा फिलिपिन्समा जुन जमीनमा मकै उत्पादन गर्न सकिँदैन, त्यस्तो जमीनमा कसाभा लगाएर मकैको विकल्पका रूपमा प्रयोग गर्ने चलन छ ।
संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी अफ्रिकामा ५५ प्रतिशत, एसियामा २५ प्रतिशत र बाँकी विश्वमा २० प्रतिशत क्यासाभा उत्पादन हुन्छ ।
मुलुकका हिसाबले हेर्दा नाइजेरियामा ६ करोड मेट्रिक टन क्यासाभा उत्पादन गरेको पाइन्छ भने दोस्रोमा डिआर कंगोले चार करोड टन, हाम्रो नजिकको मूलुक थाइल्यान्डले करिब दुई करोड ९० करोड टन उत्पादन गरेका थिए । विश्वमा सबैभन्दा बढी क्यासाभा निर्यात गर्ने मुलुक पनि थाइल्यान्ड नै हो । छिमेकी मुलुक भारतले ५० लाख मेट्रिक टन उत्पादन गर्दछ ।
नेपालको कोशी प्रदेशका तातो मौसम भएका जिल्लाहरूमा परम्परागत रूपमा सिमल तरुल उत्पादन गरिए पनि यसको तथ्यांक विश्वसामु प्रस्तुत गरिएको छैन ।
अन्तर्राष्ट्रिय बजार अनुसन्धान विज्ञहरूका अनुसार सन् २०२३ मा विश्वमा क्यासाभाको उपभोग करिब ३२ करोड टन छ भने सन् २०३२ मा पुग्दा ३७ करोड टन पुग्नेछ ।
यसको खेती गर्न अति नै सजिलो छ । यसको बीउ पनि पाइन्छ तर डाँठ काटेर रोप्ने नै चलन लोकप्रिय छ ।
एउटा छिप्पिएको डण्डा प्रत्येक दुई आँख्लामा काटेर रोप्नाले यसले बढीमा दुईसय बिरुवा पलाउँछन् । यसबाट दुई गुणा बिरुवा उत्पादन गर्न त सकिन्छ तर हालको बजारको माग यसले पूरा गर्न सक्दैन । बिउलाई आधुनिक प्रयोगशालामा उत्पादन गर्न सकिए ३६ हजार गुणा बढी बिरुवा उत्पादन गर्न सकिने अध्ययनहरूले देखाएका छन् । गुणस्तरीय बिरुवा प्राप्त भए उत्पादनमा पनि वृद्धि गर्नसकिन्छ ।
अफ्रिकी मुलुकहरूमा कसाभालाई अल सफिसियन्ट क्रप अथवा आफैँमा पूर्ण बालीका रूपमा लिइन्छ । यसको जरालाई खाद्यान्न र बिरुवाको डाँठ तथा पातलाई मासुको स्रोतका रूपमा लिइन्छ ।
भन्नुको अर्थ हो, जरा मानिसले खान्छन् भने हाँगा पात पशुपन्छीको असल आहारा बन्दछ । कंगोमा गरिएको एक अध्ययनले कसाभाको पिठोमा ९४ प्रतिशतसम्म कार्बोहोइड्रेड पाइएको छ । यसको पात तथा डाँठलाई सुकाएर बनाइएको धुलोमासमेत ३८ प्रतिशतसम्म उक्त तत्व पाइएको छ ।
कसाभाको पातमा प्रोटिनको मात्रा निकै हुने भएकाले कुहाएर मल बनाउँदा अथवा डढाएर खरानी बनाए पनि अन्य बिरुवाका लागि राम्रो मल बन्दछ । यसैगरी यसको पातलाई पेलेर झोल बनाउन सके उत्तम जैविक विषादी पनि बन्दछ ।
यसका साथै कसाभा खेतीमा तरकारीलाई घुसुवा बालीका रूपमा लगाए विषादी प्रयोग गर्नुपर्दैन । कसाभालाई ड्याङ बनाएर रोप्दा बढी उत्पादन हुनुका साथै बढी पानी पर्दासमेत निकासको व्यवस्थापन भई जरा कुहिने समस्या पर्दैन ।
कसाभाको उपयोग सन् २००० पछि विश्वमा तीव्र गतिमा बढेको विश्व खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । उसका अनुसार एसियामा यसको उपयोग पशुदानामा बढी र खाद्य वस्तुका रूपमा उपयोग हुन्छ भने अफ्रिकामा खाद्य वस्तुका रूपमा बढी उपयोग गरिन्छ ।
विश्वमा कसाभाको उत्पादन औषत प्रतिहेक्टर १३ टन भए पनि विकसित मुलुकहरूले हेक्टरको ८० टनसम्म उत्पादन गरेको एफएओको तथ्यांक छ । एफएओले तयार पारेको सेभ एन्ड ग्रो अथवा संरक्षण र उत्पादन प्रविधिमा जमीनको खनजोतलाई न्यूनीकरण गरी माटोको उर्बरापनलाई बढाउन सकिन्छ । यसैगरी दिगो रूपमा खेती गर्नका लागि जैविक मल तथा जैविक विषादीको प्रयोग गर्न सकिन्छ ।
सामान्यतया अन्य बाली नफल्ने ठाउँमा पनि कसाभा खेती गर्न सकिन्छ । औषत वर्षा चार सय मिलिमिटर भए पनि कसाभा फल्छ तर थाइल्यान्डमा गरिएको अनुसन्धान अनुसार एक हजार सात सय एमएम वर्षा हुने ठाउँमा बढी उत्पादन भएको तथ्यांक छ ।
यस्तै नाइजेरियाम थोपा सिँचाइ प्रविधिको प्रयोगबाट कसाभा लगाउँदा बिना सिँचाइभन्दा ६ गुणा बढी उत्पादन भएको थियो ।
नेपालमा विसं. २०२४ मा इलाम पेल्टिमारीकी एक महिलाले सिक्किमबाट एउटा लौरो टेकेर ल्याएकी थिइन् । घरमा आइपुगेपछि लौरो बारीमा फालिन् । पछि पुरिएर सिमल जस्तो बिरुवा पलायो । यसबारे वरपर कसैलाई थाहा भएन । दुईचार वर्षपछि फेरि सिक्किम जाँदा सिमल तरुल उसिनेर खाजा खाएपछि आफूले टेकेको लौरो त खाद्य वस्तु रहेछ भन्ने जानकारी भयो । त्यसपछि पूर्वी नेपालमा सिमल तरुल फैलिएको भनाइ छ ।
हाल नेपालमा पशुपन्छीको दानाका लागि मकैको अत्यधिक प्रयोग हुन्छ । नेपालमा उत्पादित मकै नपुगेर अर्बौंको मकै विदेशबाट आयात गरिन्छ । पछिल्लो समयमा खाद्यान्न तथा पशुदानामा मकैको विकल्पका रूपमा कसाभाको पिठो पनि प्रयोग भएको पाइन्छ ।
यस्तै ससेज, आइसक्रिम, केक आदि खाद्य वस्तुमा पनि यसको प्रयोग हुन्छ । कसाभाबाट उत्पादन हुने सबैभन्दा महत्वपूर्ण र धेरैले उपभोग गर्दै आएको वस्तु साबुदाना हो । गत वर्ष भारतबाट करिब ६० करोड रूपैयाँ बराबरको साबुदाना आयात गरिएको भन्सारको तथ्यांक छ ।
हाम्रो देशको भूगोलमा पानी नजम्ने माथिल्लो तराइ, चुरे र तल्लो पहाडमा यसको खेती गरे सरदर ५० लाख टनसम्म कच्चा सिमल तरुल उत्पादन गर्न सकिन्छ । यसबाट २० देखि ३० प्रतिशतसम्म तयारी वस्तु उत्पादन हुन्छ । बाँकी वस्तु अन्य प्रयोगमा ल्याइन्छ । विभिन्न वस्तु उत्पादन गरी बाँकी बसेको कसाभाको भागबाट मल उत्पादन गर्न सकिन्छ ।
यदि नेपालमा कसाभा प्रशोधन उद्योग स्थापना गर्न सके धेरै मानिसले रोजगारी पाउन सक्दछन् भने वार्षिक करिब २० अर्ब रूपैयाँ बराबरको कारोबार गर्न सकिन्छ । उद्योग स्थापना गर्न उति ठूलो लगानी पनि लाग्दैन । (लेखक सिमल तरुल किसानको सिक्ने क्षमता विषयमा पोस्ट डक्टरल अनुसन्धानकर्ता हुन् ।)