arrow

सुन प्रकरणमा महरालाई उन्मुक्ति दिने तयारी, दाहालले हेरेको मुद्धामा महराका निकटस्थले लिए बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
krishnabahadur-mahara-rahul-mahara-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध सुन प्रकरणमा मुछिएका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ । 

छोरा राहुल महराको अनुसन्धान सिध्याएर सरकारी वकिल कार्यालय बुझाउने मिति नजिकिदै गर्दा उनीसँग बयान लिएको हो । सीआईबीमा रहेका डीएसपी मदनजीत महराको पहलमा उनलाई सफाइ दिने गरी बयान लिएको स्रोतको दाबी छ । 

डीएसपी दुर्गा दाहालले अनुसन्धान गरिरहेको भए पनि डीएसपी महरा पूर्व सभामुख महराका आफन्तसमेत भएकाले बाबुछोराको मुद्धा एकै पटक पक्राउ नगरी सरकारी वकिल पठाउन लागिएको हो । 

विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा सीआईबीले महरासँग बयान लिएको हो  । छोरा राहुल हिरासतमा रहेका बेलामा उनको मुद्धा बुझाउने बेला भएकाले बाबु महरासँग बयान लिएको सीआईबीका एक प्रहरीले बताए ।

‘विमानस्थलबाट तस्करी भई आएको ९ केजी सुन प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीले सोधपुछ गरेको हो’, सीआईबीका ती अधिकारीले भने । 
उनलाई सीआईबीकै कार्यालयमा बोलाएर बयान लिएको हो ।  

२०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएको थियो । करिब ९ करोड बराबरको सुन महराको परिवारसँग निकट रहेका चिनियाँ तस्करीका नाइके ली हाङसाङ र दाओजिन वाङको योजनामा नेपाल ल्याइएको थियो । 

सो सुन छुटाउन महरानै प्रयोग भएका थिए । भेप मार्फत ल्याइएको सुन विमानस्थल भन्सारले नियन्त्रणमा लिएपछि त्यसलाई छुटाउन महरा परिवारको साथ रहेको सीआईबीको दावी छ । 

सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा पनि सो कुरा उल्लेख गरेको छ । सुन आएपछि भन्सारमा भएको सामान छुटाउन महरा र उनका छोरा राहुलसहितको समूहले भन्सार प्रशासनलाई पटक–पटक दबाब दिएको थियो । 

भेप भन्सारकै नियन्त्रणमा रहेका बेला कर्मचारीलाई दबाब दिइएको थियो । भन्सार कर्मचारी र भन्सार एजेन्टसहितको योजनामा गोदामबाटै चोरी भएको सुन सीआईबीको अनुसन्धानपछि मात्रै उनीहरुको संलग्नता खुलेको थियो । 

भन्सार कार्यालयले थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएकोमा पहिलो चरणमा सुन चोरीमा मात्रै मुद्दा गएको थियो । 

चोरीको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलसहितका व्यक्ति चोरी हुनु अगावै सुन छुटाउन भन्सारलाई दबाब दिनेदेखि सुन ल्याउने तस्करसँग पटक–पटक सम्पर्कमा रहेको खुलेको थियो । 

त्यसको अहिले सीआईबीमा अनुसन्धान जारी छ । अनुसन्धानका क्रममा राहुल पक्राउ परिसकेका छन् भने चिनियाँ तस्करसँग निकट रहेको खुलेपछि महरा पनि अनुसन्धानमा तानिएका हुन् । 

उनलाई काठमाडौँ बाहिर नजाने सर्तमा राखिएको थियो । अहिले भने छोरा राहुलसँगै उनको मुद्धा लैजाने तयारी गरेको र सो प्रकरणमा मुछिएका बाबुको पनि मुद्धा एकै साथ पठाउन लागिएको सीआईबी स्रोतले जनाएको छ  । 

प्रहरीले साउन २ मा बरामद भएको सुन र भेप मार्फत सुन तस्करी गर्ने एउटै समूह भएको निष्कर्ष निकालेको छ । 

सोही आधारमा ली हाङसाङ र दाओजिन वाङलाई पनि मुख्य प्रतिवादी बनाइएर मुद्धा पठाइएको छ । 

सो मुद्धामा अहिले काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ