arrow

पतिका हत्यारा छाड्ने कदम विरुद्ध संघर्षमा भारती, अस्पतालबाट फेरि अनसनस्थलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
bharati-manandhar-2080-06-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसनरत भारती मानन्धर उपचारिपछि फेरि अनसनमा उत्रेकी छिन् ।

बुधबार माइतीघरमा २ घण्टा अनसन बसेर तारिख बुझ्न सर्वोच्च अदालत पुगेका बेला त्यहीँ ढलेकी उनी उपचारपछि फेरि आज माइतीघरमै अनसन बस्न पुगेकी हुन् ।

हिजो सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएकी उनी आज अस्पतालबाट डिस्चार्ज भएसँगै फेरि माइतीघरमा पुगेकी हुन् । 

के हो घटना ? 
नेपालगञ्जका चेतनलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसूरमा जेल परेका रिगल भनिने योगराज ढकालको १२ वर्ष कैद संविधान दिवसको अवसरमा सरकारले माफी दिएपछि उनकी पत्नी सरकारको कदमविरुद्ध संघर्षमा उत्रिएकी हुन् । 

सरकारको सिफारिस र राष्ट्रपतिको कदम फिर्ता गर्न माग गर्दै भारती अनशनमा उत्रिएकी हुन् । चेतनको हत्या भएपछि भारतीलाई सासूससुराले नै अर्को बिहे गराइदिए । 

रिगल फूलमाला र अबिरजात्रासहित जेलबाट रिहा भएर नेपालगञ्जमा र्‍याली गर्दा चेतनका परिवार भने भयभीत छन् । भारतीले चेतनका बुबाआमासहित परिवारको सुरक्षाको पनि माग गरेकी छिन् ।

नेपालगञ्जबाट आएर माइतीघरमा अनशन थालेकी भारतीले आममाफीको निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दिएकी छिन् । तर सुनुवाइ हुन सकेको छैन । भारती मानसिक दबाबमा त छिन् नै दमको रोगी पनि हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रिगलसहित ६ सय ७० जनालाई आममाफी दिएको हो । तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे । 

असुलीमा अवरोध गरेको भन्दै रिगलले २०७२ असार २८ मा चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ बैशाख ११ मा रिगललाई हत्याको मुख्य योजनाकार ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ