arrow

एमालेको सुदूरपश्चिम नेतृत्वका लागि तीन प्रतिस्पर्धी, भीम रावलको साथ कसलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
CPN-UML-Flag.jpeg

काठमाडौँ । आइतबारदेखि हुने एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशनमा तीन जना प्रतिस्पर्धी देखिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र अछामकै कृष्णप्रसाद जैशीले प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

उनीहरुले प्रदेश अध्यक्षका लागि उम्मेदवारी मात्र घोषणा गरेका छैनन् माथिल्लो तहमा लबिङ गरिसकेका छन् । बिहीबार प्रतिनिधि छनोट गरिइसकेको छ । 

सरकारी अर्थात् संस्थापन पक्षले कमल तिमिल्सेनालाई अघि सार्दैछ । साथै अछामकै पार्टी बनाउने मध्येका जैशी पनि उम्मेदवार भएकाले तिमिल्सेनालाई अप्ठेरो पार्ने देखिएको छ । 

सिंहले भने बिहीबार पत्रकार सम्मेलन गरेर आफू अध्यक्षको उम्मेदवार भएको घोषणा गरे । पार्टी सुसंगठित, सुव्यवस्थित र सक्षम बनाउनका लागि अध्यक्ष पदमा दाबी गर्ने बताए ।

 ‘पार्टीलाई प्रदेश स्तरमा पुनस्थापित गराउने, जनवर्गीय संगठनहरुलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, व्यावसायिक, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउन म प्रदेश अध्यक्ष हुन चाहेको हु,’ उनले भनेका थिए । तर अन्य आकांक्षीले भने मुख खोलेका छैनन् । 

हालका अध्यक्ष रहेका दामोदर भण्डारी प्रतिनिधि सभा सदस्य र सचिव धर्मराज पाठक प्रदेश सभा सदस्य रहेकाले विधिअनुसार उनीहरु अध्यक्षमा उम्मेदवार बन्न नपाउने भए पनि उनीहरु मैदानमा आएका हुन् । 

अध्यक्ष पदका अर्का उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववीयू, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् । 

उनी विचारका हिसाबले यसपटक ओलीलाई साथ दिँदै आएका छन् । स्रोतका अनुसार तिमिल्सेनाले यसपटक भीम रावलको पनि साथ पाउने सम्भावना रहेको छ । 

आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वभाविक दाबेदार भएको उनले बताएका छन् । उपाध्यक्ष भएर प्रदेशको काम गरेको अनुभव र पार्टीलाई अझ एकताबद्ध, पार्टीमा समन्वयकारी, संविधानको कार्यान्वयन, पार्टीभित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुन नदिन आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

अध्यक्षका अर्का आकांक्षी जैशीसँग अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ । लामो समय पार्टीमा काम गरेकाले आफू पनि अध्यक्षको स्वभाविक दावेदार रहेको बताउँदै आएका छन् । 

धनगढीमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । अहिले सुदूरपश्चिममा ओलीको स्वागतका लागि ब्यानर टाँगेर विभिन्न स्वागत गेटहरु बनाइएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ