arrow

सोनाको मृत्यु शंकास्पद 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
sona-shiwakoti-2080-06-02.jpg

काठमाडौँ । दोलखाको कालिञ्चोक गाउँपालिका ८ मलेपुकी सोना शिवाकोटीको मृत्यु शंकास्पद देखिएको छ । २५ वर्षीया सोनाको गत असोज २ गते धादिङको सिम्लेमा रहेको द क्लिफ साइट रिसोर्टमा मृत्यु भएको थियो । 

उक्त रिसोर्टको एट्याच बाथरुममा मृत्यु भएको अवस्थामा प्रहरीले उनलाई फेला पारेको हो । उनीसँगै उक्त कोठामा उनीसँग ६–७ महिनादेखि निकट रहेका भुवन श्रेष्ठ पनि रहेका थिए । 

उनै श्रेष्ठले रिसोर्टका मालिकलाई सम्पर्क गरी घटना भएको बताएपछि प्रहरी पुगेर घटनास्थलको मुचुल्का उठाएको थियो । 

घटनास्थलमा पुगेका मुद्दा फाँटका प्रहरी निरीक्षक गोविन्द शाहका अनुसार सोनाको शव बाथरुमको भुँइमा रहेको थियो । उनले भने, ‘एट्याच बाथरुममा चाहिँ भुइँमा थियो । अनि ट्वेल राख्ने ह्याङ्गर हुन्छ नि त्यसमा सल झुन्डिएको थियो ।’

उनले अगाडि भने, ‘केटोलाई नियन्त्रणमा लिएर मुद्दा चलिराछ ।’

यो मृत्युलाई अभियुक्त श्रेष्ठले आत्महत्या भनेर बयान दिएको पाइएको छ । तर प्रकृति हेर्दा यो घटना आत्महत्या नभएको भन्दै यसको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न उनका परिवारले माग गरेका छन् । 

परिवारका अनुसार सोना तीज मनाउन काठमाडौँ आएकी थिइन् । तर काम छ भनेर उनी असोज २ गते बिहानै काठमाडौँबाट धादिङ गएकी थिइन् । 

सिम्ले गएर उनले तिनै भुवन श्रेष्ठलाई भेटिन् र दुवै जना रिसोर्टमा बसेका थिए । सोही रिसोर्टमै यो घटना भएको हो । 

पोष्टमार्टम रिपोर्टमा भने उनले झुन्डिएर आत्महत्या गरेको उल्लेख गरेको पाइएको छ । तर घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिँदैन । किनकि झुन्डिनलाई आफू भन्दा अग्लो ठाउँ हुनुपर्छ । तर उनको सल त कपडा झुन्डाउने ह्यांगरमा रहेको थियो । 

अर्कातर्फ उनीसँगै भएका अभियुक्तले नुहाउन जान्छु भनेर बाथरुममा गएको भनेर बयान दिएको पाइएको छ । नुहाउन जाने भने पनि कुनै टाबेल बाथरुममा थिएन । 

प्रहरी निरीक्षक शाहले मुद्दा चलिरहेकाले सबै कुरा अहिले भन्न नमिल्ने बताए । उक्त घटना मध्यान्ह १२ बजेतिरको भए पनि भुवनले उक्त रिसोर्टका मालिकलाई दिउँसो ३ः३० बजेतिरमात्र खबर गरेकोसमेत पाइएको छ । 

उक्त घटनाबारे गत सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन  बुझाएको छ । 

२५ वर्षे भुवनलाई प्रहरीले २ गतेदेखि नै नियन्त्रणमा लिएर राखेको छ । उनले धादिङको गजुरीमा आफू इन्स्टक्टर भएर डान्स इन्स्टिच्युट खोलेका छन् । जहाँ सोनाले पनि ६–७ महिनादेखि नै नृत्य सिकिरहेको परिवारले जनाएको छ । सोही समयदेखि नै भुवन र सोना नजिकिएको पाइएको छ ।  

सोना विगत ४–५ वर्षदेखि धादिङकै गजुरीमा रहेको नाडेप लघुवित्तमा काम गर्दै आएकी थिइन् । सोना अविवाहित थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ