arrow

कृष्णबहादुर महराका छोरा राहुललाई जिल्ला अदालतमा पेश गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
krishnabahadur-mahara-rahul-mahara-.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्षको पुस १० गते हराएको ९ किलो सुनको पूरक प्रतिवेदनसहित पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई आज जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्न भन्दै फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयलाई फर्काएसँगै आज मुद्धा दायर गर्न लागेको हो । 

सीआईबीले मंगलबार साँझ अनुसन्धान प्रतिवेदन फर्काएपछि आजै अदालतमा पेश गर्ने तयारी गरेको स्रोतले जनाएको छ । 

सीआईबी स्रोतले सरकारी वकिलको कार्यालयले दिएको निर्देशन अनुसार थप केहीको बयान गराएर मंगलबार फर्काइएको थियो । सरकारी वकिलले क–कसको बयान लिन भनेको थियो ? र सीआईबीले थप क–कसको बयान लियो भन्ने खुलेको छैन । ‘बुधबार मुद्धा दायर हुन्छ त्यहीँ थाहा भैहाल्छ’, सरकारी वकिल कार्यालयका एक कर्मचारीले भने । 

आइतबार सरकारी वकिलको कार्यालय पुगेको अनुसन्धान प्रतिवेदन सोमबार सीआइबीलाई फर्काइएको थियो । सरकारी वकिल कार्यालयले प्रतिवादीहरूको थप बयान गर्नुपर्ने देखिएको कारण देखाएर थप बयान लिएर अनुसन्धान पूरा गर्ने निर्देशनसहित फर्केको प्रतिवेदन मंगलबार सरकारी वकिलको कार्यालयमा पठाइएको सीआईबीले जनायो । 

सीआईबीले यस प्रकरणमा मुछिएका कृष्णबहादुर महरालाई भने अभियुक्त बनाएको थिएन । महरासँग सीआईबीले कार्यालयमै बोलाएर बयान लिएको थियो । 

महराका छोरा राहुलसहित दावा छिरिङ, लोकेन्द्र पौडेल र निमा गुरुङलाई संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित सीआईबीले अनुसन्धान प्रतिवेदन  सरकारी वकीलको कार्यालयमा पेस गरेको थियो । अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा अपुरो देखिएकाले थप केही बुँदामा स्पष्ट पार्नू भन्दै सीआईबीलाई फिर्ता पठाइएको थियो ।

सीआईबीले छोरा राहुललाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर सुन छुटाउन फोन गरेर दबाब दिएका बाबु कृष्णबहादुर महरालाई भने प्रतिवादी नबनाउने र मुद्धा नचलाउने गरी अनुसन्धान प्रतिवेदन दिएको छ । 

प्रतिवादी नबनाउनकै लागि सीआईबीले उनको कागज मात्रै गराएर छाडेको थियो । यसअघि कृष्णबहादुर महराका बाबु छोराकै संलग्नता देखिएको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले उनीहरुसँग कागजसमेत गरेको थिएन । 

चिनियाँ नागरिकले ली हाङसोङले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा नियन्त्रणमा लिएको थियो । तस्करहरूले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए । भन्सारले शुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिको दबाब लगाएको खुलेको छ । 

जसमा महराका बाबुछोरासमेत जोडिएका हुन् । चिनियाँ नागरिकहरु लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटकपटक सम्पर्क देखिएको छ । महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ । 

जुन कुरा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा खुलाएको छ । सीआईबीको अनुसन्धान प्रतिवेदनमै महरा बाबुछोराको चिनियाँ तस्करसँग सिधा टेलिफोन सम्पर्क देखिएको र भन्सारमा सुनसहितको भेप रोकिएपछि छुटाउनसमेत दबाब दिएको प्रतिवादीको बयानसमेत संलग्न गरेको थियो । 

सीआईबीको अनुसन्धान प्रतिवेदनमा उनीहरुको संलग्नता रहेको भन्ने उल्लेख भएसँगै महरा बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान गर्न सीआईबीलाई दबाब परेको थियो । तर छोरा राहुललाई भदौ १३ गते पक्राउ गरे पनि बाबुमाथि भने कुनै अनुसन्धान नगरी कागज मात्रै गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ