arrow

सोनाको हत्या अभियोगमा पक्राउ परेका भुवन पुर्पक्षका लागि थुनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
sona-shiwakoti-2080-06-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । दोलखाको कालिञ्चोक गाउँपालिका ८ मलेपुकी सोना शिवाकोटीको हत्या अभियोगमा पक्राउ परेका भुवन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । 

जिल्ला अदालत धादिङले आज उनलाई थुनामा राख्ने आदेश दिएको हो । न्यायाधीश गोपालप्रसाद बास्तोलाले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् । 

२५ वर्षीया सोनाको गत असोज २ गते धादिङको सिम्लेमा रहेको द क्लिफ साइट रिसोर्टमा रहस्यमय मृत्यु भएको थियो । 

उक्त रिसोर्टको एट्याच बाथरुममा मृत्यु भएको अवस्थामा प्रहरीले उनलाई फेला पारेको हो । सोनाको मृत्यु हुँदा उक्त कोठामा सोनासँग ६–७ महिनादेखि निकट रहेका भुवन श्रेष्ठ पनि रहेका थिए । 

उनै श्रेष्ठले रिसोर्टका मालिकलाई सम्पर्क गरी घटना भएको बताएपछि प्रहरी पुगेर घटनास्थलको मुचुल्का उठाएको थियो । 

घटनास्थलमा पुगेका मुद्दा फाँटका प्रहरी निरीक्षक गोविन्द शाहका अनुसार सोनाको शव बाथरुमको भुँइमा रहेको थियो । उनले भने, ‘एट्याच बाथरुममा चाहिँ भुइँमा थियो । अनि ट्वेल राख्ने ह्याङ्गर हुन्छ नि त्यसमा सल झुन्डिएको थियो ।’

यो मृत्युलाई अभियुक्त श्रेष्ठले आत्महत्या भनेर बयान दिएको भए पनि प्रकृति हेर्दा यो घटना आत्महत्या नभएको भन्दै यसको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न उनका परिवारले माग गर्दै आएका छन् । 

परिवारका अनुसार सोना तीज मनाउन काठमाडौँ आएकी थिइन् । तर काम छ भनेर उनी असोज २ गते बिहानै काठमाडौँबाट धादिङ गएकी थिइन् । 

सिम्ले गएर उनले तिनै भुवन श्रेष्ठलाई भेटिन् र दुवै जना रिसोर्टमा बसेका थिए । सोही रिसोर्टमै यो घटना भएको हो । 

पोष्टमार्टम रिपोर्टमा भने उनले झुन्डिएर आत्महत्या गरेको उल्लेख गरेको पाइएको छ । तर घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिँदैन । किनकि झुन्डिनलाई आफू भन्दा अग्लो ठाउँ हुनुपर्छ । उनको सल त कपडा झुन्डाउने ह्यांगरमा रहेको थियो । 

अर्कातर्फ उनीसँगै भएका अभियुक्तले नुहाउन जान्छु भनेर बाथरुममा गएको भनेर बयान दिएका थिए । नुहाउन जाने भने पनि कुनै टाबेल बाथरुममा थिएन । 

उक्त घटना मध्यान्ह १२ बजेतिरको भए पनि भुवनले उक्त रिसोर्टका मालिकलाई दिउँसो ३ः३० बजेतिरमात्र खबर गरेकोसमेत पाइएको छ । 

उक्त घटनाबारे गत सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि आज अदालतले बयानपछि सुनुवाइ गर्दै अभियुक्त भुवनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

२५ वर्षे भुवनलाई प्रहरीले २ गतेदेखि नै नियन्त्रणमा लिएर राखेको छ । उनले धादिङको गजुरीमा आफू इन्स्टक्टर भएर डान्स इन्स्टिच्युट खोलेका छन् । जहाँ सोनाले पनि ६–७ महिनादेखि नै नृत्य सिकिरहेको परिवारले जनाएको छ । सोही समयदेखि नै भुवन र सोना नजिकिएको पाइएको छ ।  

सोना विगत ४–५ वर्षदेखि धादिङकै गजुरीमा रहेको नाडेप लघुवित्तमा काम गर्दै आएकी थिइन् । सोना अविवाहित थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ