arrow

माथागढीमा टेण्डर भयो, काम भएन, कर्मचारी धम्क्याउँदै जनप्रतिनिधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
jhadewa-tender-notice.jpg

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकामा टेण्डर भएको १९ महिना बितिसक्दा पनि प्रशासनिक भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

यसअघिको नेपाली कांग्रेसबाट निर्वाचित सन्तोष थापा मगर नेतृत्वको सरकारले पालिकाको केन्द्र टुंग्याएर भवन निर्माणका लागि टेण्डर गरी प्रक्रिया अगाडि बढे पनि हाल एमालेबाट निर्वाचित यम चिदी नेतृत्वको सरकारले भने त्यसको बेवास्ता गर्दा अहिलेसम्म पनि निर्माण कार्य अगाडि बढ्न नसकेको हो । 

थापा नेतृत्वको सरकारले २०७८ सालको अन्तिमतिर भवन निर्माणका लागि टेण्डर गरी काम अगाडि बढाएको थियो । तर लगत्तै स्थानीय तहको निर्वाचन आएकाले कामले गति लिन सकेको थिएन । स्थानीय तह निर्वाचनपछि एमाले नेतृत्वको सरकार आएपछि निर्माण कम्पनी छनोट गरे पनि काम हुन सकेको छैन । 

जग्गा विवाद देखाउँदै पालिकाले काम अगाडि बढाउन नसकेको स्रोतले जनाएको छ । यद्यपि अघिल्लो सरकारले भवन निर्माणका लागि वडा नं. ४ को झडेवामा बनाउने गरी जग्गाका लागि दुई ओटा विकल्प अगाडि सारेको थियो । 

उसले विद्यालयको जग्गा र व्यक्तिगत जग्गामध्ये जुन उपयुक्त हुन्छ सोही जग्गामा बनाउने गरी काम अगाडि बढाएको हो । केन्द्रका लागि बहुमत नपुगेपछि २०७८ मा गाउँपालिकाको दोस्रो हिउँदे अधिवेशनमा निर्वाचन गराई अधिकतम संख्याले झडेवा नै केन्द्र बनाउने र भवन निर्माण प्रक्रिया अगाडि बढाउने गरी निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार नै २०७८ फागुन २३ गते पत्रिकामार्फत टेण्डरका लागि सूचना निकालेको थियो । २०७९ बैशाख  ३० मा स्थानीय निर्वाचन भएपछि भवन निर्माणको प्रक्रिया रोकिएको हो । त्यसता एमालेका चिदी नेतृत्वको सरकारले निर्माण कम्पनी छनौट गर्ने बाहेक अन्य काम गरेको देखिँदैन । 

स्थानीय सरकारको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लगानीमा भवन निर्माणका लागि सम्झौता भएको छ । 

टेण्डर अनुसार मिलिनियम, दावा, त्रिशक्ति जेभी काठमाडौँलाई ठेक्का परेको थियो । ७ करोड ३६ लाख ३८ हजार ४ सय ३७ मा गर्ने गरी कम्पनी छनोट भए पनि पालिकाले चासो नदेखाउँदा काम अगाडि बढ्न नसकेको निर्माण व्यवसायीले जनाएको छ । 

दावा कम्पनीका निर्माण व्यवसायी तामा लामाका अनुसार पालिकाको जग्गा विवादका कारण काम अगाडि नबढेको हो । उनले भने, ‘हामीलाई टेण्डर परे पनि पालिकाले अहिलेसम्म सम्झौताका लागि खबर गरेको छैन ,पालिकासँग बुझ्दा जग्गा विवाद भएकाले सम्झौता गर्न नसकिएको बताएको छ ।’ 

निर्माण व्यवसायी लामाले स्थानीय सरकार परिवर्तन हुँदा त्यसको असर देखा परेको हुन सक्ने बताए । चिदी नेतृत्वको अहिलेको सरकारले सकभर कांग्रेस नेतृत्वको सरकारले अगाडि सारेका कार्यक्रम र योजनालाई अगाडि बढाउनै नखोजेको स्रोतको दाबी छ । भवन निर्माणको काम समेत सकभर अगाडि नबढाउने बरु केन्द्र नै अन्यत्र सार्ने दाउमा अहिलेको नेतृत्व रहेको छ । 

यसअघिको नेतृत्वले सबैलाई केन्द्र पर्ने गरी झडेवा तोकेको थियो । सोही ठाउँलाई केन्द्र बनाउने गरी अहिलेको चिदी नेतृत्वले आम मतदाताहरु समक्ष मतसमेत मागेको थियो । तर अहिले आएर भवन बनाउने विषयमा पालिका मौन रहेको छ । 

जसले गर्दा पालिका अध्यक्ष चिदीको निर्णय माथि प्रश्न उठ्न थालेको छ । आफ्नै प्रशासकीय भवन नहुँदा कार्यसम्पादनमा समेत समस्या हुुँदे आएको छ । 

हाल प्रयोग गर्दै आएको भवन साघुँरो र पर्याप्त काम गर्ने कोठा नहुँदा सेवा प्रवाहमासमेत समस्या भइरहेको कर्मचारीहरुको गुनासो छ ।  

पालिकाले साविको वडा कार्यालयको भवन प्रयोग गरे पनि त्यसबाट पर्याप्त नहुँदा शिक्षा, स्वास्थ्य, रोजगार, अधिकृत निवासका लागि घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । भाडाका घरबाट सेवा प्रवाह गर्दा पालिकाका मासिक ५० हजारभन्दा बढी रकम खर्च भइरहेको छ ।

जनप्रतिनिधिको दादागिरीले त्रासमा कर्मचारी
यहाँका केही जनप्रतिनिधिहरुको दादागिरीले कर्मचारीहरुले त्रासै त्रासमा कार्यसम्पादन गर्नु परेको छ । आफ्नो अनुकूलको काम नगरे कर्मचारी धम्काउने, गाली गर्ने सम्मका हर्कत यहाँका केही जनप्रतिनिधिहरुबाट हुने गरेको छ ।  

केही महिनाअघि वडाध्यक्ष समेतको संलग्नतामा लेखा र प्राविधिक शाखाका कर्मचारी बन्दी बनाएर कुटपिट गर्ने प्रयासका साथै तथानाम गाली गलौज गरिएको घटनालेसमेत चर्चा पाएको थियो । आफू अनुकूल काम नगरे कर्मचारीलाई दुःख दिने काम जनताबाट निर्वाचित जनप्रतिनिधिहरुबाट हुुुने गरेको छ । 

जसका कारण त्रासै त्रासमा कार्यसम्पादन गर्नु परेको कर्मचारी स्रोतले जनाएको छ । जनप्रतिनिधिबाट कार्यसम्पादनमा असहज भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली गृह मन्त्रालय र लेखापाल टिकाराम बस्याल रिब्दीकोट गाउँपालिकामा काजमा सरुवा भएका छन् । अन्य कर्मचारीहरुसमेत सरुवा गरेर जाने तयारीमा छन् । 
 

jhadewa-bhawan-2080-07-01 (4).jpg
jhadewa-bhawan-2080-07-01 (5).jpg
jhadewa-bhawan-2080-07-01 (1).jpg
jhadewa-bhawan-2080-07-01 (2).jpg
jhadewa-bhawan-2080-07-01 (1).jpeg
jhadewa-bhawan-2080-07-01 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ