arrow

साउदीमाथि ३०१ रनको जितसहित नेपाल सेमिफाइनलमा, अर्जुनको कीर्तिमानी ब्याटिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
arjun-kumal-2023.jpeg

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । 

नेपालले यसअघिका दुई खेलमा बहराइन र इरानलाई पराजित गरेको थियो । आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४७ रन बनायो ।

अर्जुन कुमाल एक्लैले १ सय ४२ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि संरचनामा नेपाली ब्याटरको यो व्यक्तिगत उच्च स्कोर हो । 

यू–१९ को अन्तर्राष्ट्रिय क्रिकेटमा अर्जुनको यो दोस्रो शतक हो । गत फागुनमा उनले कुवेतविरुद्ध १ सय ८ रन बनाएका थिए ।

गत महिना एसियाली खेलकुदको टी–२० मा कुशल मल्लले मंगोलियाविरुद्ध बनाएको १ सय ३७ रन कुनै पनि संरचनामा नेपाली खेलाडीको यसअघिको उच्च स्कोर थियो । 

अर्जुनले आकाश त्रिपाठीसँग दोस्रो विकेटमा १ सय ८९ रनको साझेदारी गरेका थिए । अर्जुनले १ सय ११ बलको इनिङ्समा कुल १७ चौका र २ छक्का प्रहार गरेका थिए । आकाशले ९८ बलमा ८९ रन बनाए । साउदी अरेबियाका अहमद राजा र घायेर अहमदले २र२ विकेट लिए ।

जवाफमा साउदीले १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भयो । सर्वानन मुदालिएरले सर्वाधिक ११ रन बनाए । दीपेश कँडेलले फेरि ६ विकेट लिए । बहराइनविरुद्ध पनि दीपेशले ६ विकेट लिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ