arrow

राष्ट्रपतिले आममाफी दिएका रिगल विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, बुधबारदेखि सुनवाइ नियमित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
bharati-manandhar-andolan-2080-06-24 (13).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालविरुद्धको सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा परेको छ । कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिट हेर्दाहेर्दैमा रहेको छ 
। 

यो मुद्दामा बुधबारदेखि सुनुवाइ नियमित हुने भएको छ । रिगललाई कैद मिनाहासहित सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिहाइ गरेपछि आफ्ना पतिका हत्याराको कैद मिनाहाविरुद्ध भारती मानन्धरले गत असोज २२ मा सर्वोच्च रिट दायर गरेकी थिइन् । 

यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा बहस जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको थियो ।

यही प्रकारको मुद्दामा प्रधानन्यायाधीश श्रेष्ठले यसअघि महान्यायाधिवक्तालाई कैद मिनाहाको अधिकार रहेको भनी फैसला गरेको भन्दै प्रश्न उठाएपछि अर्कै पूर्ण इजलासमा सुनुवाइ हुने गरी मंगलबारको पेसी तोकिएको थियो ।

रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशानस कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र  रिगललाई विपक्षी बनाएकी छिन् ।

के हो घटना ? 
नेपालगञ्जका चेतनलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसूरमा जेल परेका रिगल भनिने योगराज ढकालको १२ वर्ष कैद संविधान दिवसको अवसरमा सरकारले माफी दिएपछि उनकी पत्नी सरकारको कदमविरुद्ध संघर्षमा उत्रिएकी हुन् । 

सरकारको सिफारिस र राष्ट्रपतिको कदम फिर्ता गर्न माग गर्दै भारती अनशनमासमेत बसिन् । चेतनको हत्या भएपछि भारतीलाई सासूससुराले नै अर्को बिहे गराइदिए । 

रिगल फूलमाला र अबिरजात्रासहित जेलबाट रिहा भएर नेपालगञ्जमा र्‍याली गर्दा चेतनका परिवार भने भयभीत छन् । भारतीले चेतनका बुबाआमासहित परिवारको सुरक्षाको पनि माग गरेकी छिन् ।

नेपालगञ्जबाट आएर माइतीघरमा अनशन थालेकी भारतीले आममाफीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएकी हुन् । भारती मानसिक दबाबमा त छिन् नै दमको रोगी पनि हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रिगलसहित ६ सय ७० जनालाई आममाफी दिएको हो । तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे । 

असुलीमा अवरोध गरेको भन्दै रिगलले २०७२ असार २८ मा चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ बैशाख ११ मा रिगललाई हत्याको मुख्य योजनाकार ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ