arrow

कांग्रेस कार्यकर्ता बेपत्ता भएपछि भोटेकोसीमा पस्यो गोताखोर

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
apf-gotakhor-pokhara.jpg

रसुवा ।  नदीमा हराई रहेका एक व्यक्तिको खोजी कार्य थप प्रभावकारी बनाउन मंगलबारबाट रसुवाको भोटेकोसी खोलामा गोताखोर परिचालन गरिएको छ ।

रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–१ थुमन निवासी अन्दाजी ३५-३६ वर्षका काले भनिने छिरिङ तामाङ रोङ्गा आसपास क्षेत्रको भोटेकोसी खोलामा हाम्फाली यही ८ गते बेपत्ता भएका र बाहिरी भागमा फेला नपरेपछि पानी भित्रका भागमा खोजतलास गर्न सशस्त्र प्रहरी बलको खोताखोर परिचालन गरिएको हो ।

  जिल्ला प्रहरी प्रमुख सुभाष बुढाथोकीका अनुसार मंगलबारदेखि गोताखोर परिचालन गरिएको छ । मानिस एवं ड्रोन क्यामराको सहायताले घटनास्थलदेखि खोलाको तटिय क्षेत्रका बाहिरी भागमा खोज उद्धारबाट पत्ता नलागेपछि पानीभित्रका भागमा जान खोताखोर झिकाइएको हो । ६ गते थुमनकै एक ज्येष्ठ नागरिकलाई कुटपिट गरेको आरोपमा सोधपुछका लागि थुमनबाट धुञ्चे ल्याउने क्रममा यही ८ गते छिरिङले प्रहरीको सवारी साधनमा बस्न नमानी उहाँकै भाञ्जा नाताका दावा तामाङको मोटर साइकलमा धुञ्चेस्थित जिल्ला प्रहरी कार्यालय गएका थिए ।

थुमनबाट छुटेको केही बेरमै तार्सागाउँको केही तल मोटर साइकल ढालेर भाग्दै भोटेकोसी खोलामा छिरिङ हाम्फालेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । गाउँ समाजको माझमा रहेको प्रहरी चौकीले जिल्लास्तरमा लाँदा पुलिसले समात्यो भन्ने नकारात्मक हल्ला फैलिने आशंकाले निजी मोटर साइकलमा चढेको हुनसक्ने अनुमान गरिएको छ । 

मोटर साइकल चढाउने नेकपा एमाले र बेपत्ताहुने कांग्रेसको स्थानीय कार्यकर्ता भएको भन्दै नेपाली कांग्रेस रसुवाले एक विज्ञप्ति मार्फत घटनाको सत्यतथ्य छिट्टै पत्ता लगाई सार्वजनिक गरिदिन अनुरोध गरेको छ । नेपाली कांग्रेस रसुवाले विज्ञप्ति मार्फत भनेको छ थुमन प्रहरी चौकीका इञ्चार्ज रामविद्या शाह र अर्का सुरक्षाकर्मी जगतनारायण यादव समेत पछिपछि रहेको अवस्थामा घटना कसरी भयो भन्ने प्रश्न समेत गरेको छ । प्रहरीले भने आफ्ना पुरै जनशक्ति खोजउद्धारमा परिचालन गरिरहेको छ ।

  उता प्रहरी प्रमुख बुढाथोकीले भने खोज उद्धारमा कुनैपनि कमी हुन नदिने बताउँदै घटनाको अनुसन्धान र खोज कार्य सम्पन्न भएपछि सत्यतथ्य बाहिर आउने, प्रमाण र अनुसन्धानले कुनै व्यक्ति दोषी देखाएमा कारबाही हुने प्रष्ट पार्दै प्रहरीलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरिएको छ ।

रसुवाको भोटेकोसी खोला गहिरो खोचका साथै बढी ढुङ्गा भएका कारण खोलामा परेको मानिस पाउने सम्भावना भने अत्यन्तै न्यून रहेको विगतका घटनाक्रमले पुष्टि गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ