arrow

पैदल यात्रामार्फत घोडेपानी पुगे महामन्त्री थापा

पर्यटकहरू धुलो खाँदै असहज रूपमा हिँडिरहेको देख्दा दु:ख लाग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
gagan-thapa-agressive.jpg

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा पैदल यात्रामार्फत घोडेपानी पुगेका छन् । महामन्त्री थापा पोखराबाट नयाँ पुल उल्लेरी पैदल यात्रामार्फत घोडेपानी पुगेका हुन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुन हिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गरे । 

“कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरू धुलो खाँदै असहज रूपमा हिँडिरहेको देख्दा दुख लाग्यो,” थापाले भने, “नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।” पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उनले जोड दिए ।

शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ थियो ।घोडेपानी पुगेका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीय स्थल घुम्नुपर्नेमा जोड दिए । 

“स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ”, महामन्त्री थापाले भने, “नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीय स्थल धेरै छन् । कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन् । ती ठाउँहरूको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रूपमा पहल गर्नुपर्ने छ ।”

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी लगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँस जङ्गलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ