- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सर्ने सम्भावना बढेको छ । आगामी मंसिर १३, १४ र १५ गते हुने तय भएको बैठक आयोजना स्थलको व्यस्तताको कारण देखाउँदै सर्ने सम्भावना बढेको कांग्रेस उच्च स्रोतले जनाएको छ ।
बैठक राजधानीको भृकुटीमण्डपमा बस्ने भनिएको छ । तर उक्त स्थल आयोजनाको समयमा खाली नहुने भएकाले सोही बहाना बनाउँदै सार्ने सम्भावना रहेको बताइएको छ ।
महासमिति बैठकका लागि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका सबै सदस्य काठमाडौँ आउँछन् । त्यसकै लागि धेरैजसो जिल्लाले तयारीसमेत गरिसकेका छन् । महासमिति छान्ने काम धमाधम भइरहेको छ ।
कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ५२ जिल्लाले महासमिति सदस्य चयन गरिसकेको जनाएका छन् । अन्य जिल्लाहरु पनि चयनको प्रक्रियामा रहेका छन् ।
कांग्रेस एक केन्द्रीय सदस्यका अनुसार बैठक सर्ने नै भनिएको त छैन तर सार्नका लागि एक पक्ष लागिरहेको छ ।
उनले भृकुटीमण्डप नै खाली भएन भने उपत्यकाभित्र धेरै ठाउँ रहेकाले एउटा नभए अर्कोमा भए पनि गरेर समय धकेल्न नहुने बताए ।
उनले भृकुटीमण्डप नभए गोदावरीमा गर्न सकिने बताए । त्यो मात्रै नभएर अन्य ठाउँ पनि रहेको भन्दै बैठक नसार्न नेतृत्वलाई आग्रह गरे ।
उनले भने, ‘साउनदेखि कांग्रेस लाइनमा आएको छ । ०८२ मा १५ औँ महाधिवेशन गर्नुछ । ०८४ मा कांग्रेसलाई एकल बहुमत प्राप्त दल बनाएर सरकार बनाउनु पर्ने हुनाले ८२ मा महाधिवेशन गरेर कांग्रेस एकढिक्का हुनुपर्ने हुनाले तय गरिएका कुनै पनि कार्यक्रम सार्न उपयुक्त हुँदैन ।’
स्रोतका अनुसार एकदेखि डेढ महिनासम्म महासमिति बैठक सर्न सक्छ । तर नेतृत्वको नजिक भएका अर्का एक केन्द्रीय सदस्य भने महासमिति बैठकको तयारी तीव्र भइरहेको भन्दै नसर्ने बताए ।
कार्यसम्पादन समिति बैठकमा कुरा उठ्ने
यही सम्भावनाबीच आइतबार बिहान १० बजेका लागि डाकिएको कार्यसम्पादन समितिको बैठकमा महासमिति बैठकका बारेमा पनि छलफल हुने बुझिएको छ ।
बाहिर महासमिति बैठक सार्ने चर्चा चलेसँगै स्वभावैले कार्यसम्पादन समिति बैठकमा पनि यसबारे छलफल हुने बताइएको छ ।
पार्टी मुख्यालयका मुख्यसचिव पौडेलले आइतबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुन सक्ने जानकारी दिए ।
उनको भनाइले पनि महासमिति बैठक केही समयका लागि सर्न सक्ने सम्भावना देखिएको छ ।
कस्तो छ त महासमितिको तयारी ?
महासमिति बैठक एकदेखि डेढ महिनासम्म सर्न सक्ने बताइए पनि तयारी भने तीव्र रुपले भइरहेको छ ।
बैठकअघिका कार्यक्रम धमाधम भइरहेका छन् । देशभर महासमिति सदस्यहरूको निर्वाचन धमाधम भइरहेको छ । अहिलेसम्म ५२ जिल्लाको निर्वाचन भइसकेको छ भने बाँकी जिल्लाहरु पनि निर्वाचनको चरणमा रहेका छन् ।
देशभरबाट महासमिति बैठकका लागि अढाई हजार महासमिति सदस्यहरु काठमाडौँ आउने छन् । महाधिवेशनपछिको शक्तिशाली बैठक हुने भएकाले पनि यसका लागि तँछाडमछाड हुनु स्वभाविकै हो ।
यो बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन बाहेक महाधिवेशनले गर्ने सबै कार्यहरू गर्न सक्ने वैधानिक व्यवस्था भएकाले पनि यसको महत्व निकै छ । यही बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्नेदेखि विधानसमेत फेरबदल गर्न सक्ने हैसियत राख्छ ।
तर यसपटकको महासमिति बैठकमा पार्टीको अबको नीति र आगामी कार्यदिशाका बारेमा मात्रै छलफल गर्ने भनी शीर्षतहमा सहमति भइसकेको बताइएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मिडियालाई बताएअनुसार बैठकको हलको टुंगो लगाउने बाहेकका सबै प्राविधिक तयारी पूरा भएको छ ।
हलको टुंगो नलाग्दा नै सर्ने सम्भावना बढेको हो । तर महासमिति बैठक हुन अझै चार हप्ता बाँकी छँदा यदि नेतृत्वले चाहने हो भने बैठक समयमै गर्न कसैले रोक्ने छैन ।