arrow

 ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ मा नेपाल तेस्रो, नेपाली ह्याकरले जिते दुई करोड १२ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २५ शनिबार
hakathon-ethical-worldcup.jpg

काठमाडौँ ।  ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा नेपाली इथिकल ह्याकरको टोली तेस्रो भएको छ । सेमिफाइनलमा स्पेनसँग पराजित नेपाल तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई हराउँदै तेस्रो भएको हो । 

तेस्रो भएसँगै नेपाली टिमले  एक लाख ६० हजार डलर (करिब दुई करोड १२ लाख रुपैयाँ) पुरस्कार पाएको छ ।

मार्च १३ देखि शुरु भएको यो प्रतिस्पर्धाको समूह चरणमा भारत र पाकिस्तानलाई हराउँदै नेपाल शीर्ष १६ मा पुगेको थियो । मे २ देखि १६ सम्म साउदी अरेबिया र नेपालबीच स्वीट सिक्स्टिनका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा साउदीलाई पछि पार्दै टिम नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

 क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिकालाई हराएर नेपाली टिम सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा नेपाललाई हराएर फाइनल पुगेको प्रतियोगिताको स्पेन पहिलो र फ्रान्सलाई हराएर फाइनल पुगेको इजरायल दोस्रो भए । 

नेपाली ह्याकरको टिममा आनन्द ढकाल, विवेक उप्रेती, सन्दीप ओली, विवेक न्यौपाने, प्रशान्त भट्टराई, आकाश हमाल, विवेक ढकालसहित २६ जना थिए । फाइनलका लागि अर्जेन्टिना जाने सूचीमा भने १० ह्याकर थिए ।   

सेमिफाइनल चरणका खेल सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म भर्चुअल रूपमै भएको थियो । फाइनल भने अक्टोबर १९ देखि नोभेम्बर ३ मा अर्जेन्टिनामा भएको हो । फाइनलका लागि नेपाली टिमलाई अर्जेन्टिना बोलाइए पनि भिसा समस्याका कारण जान पाएको थिएन ।

ह्याकर वन एम्बास्डर वर्ल्डकप यस्तो प्रतियोगिता हो जहाँ विश्वभरका ह्याकरहरूको टिम एकअर्कासँग प्रतिस्पर्धा गर्छन् । 

यसमा सहभागी ह्याकरको टोलीलाई कुनै पनि सिस्टममा भएका कमजोरी पत्ता लगाउन भनिन्छ । 

तोकिएको समयमा जसले बढी कमजोरी (बग) फेला पार्छ, सोही टिमको अङ्क बढ्दै जान्छ । अन्तिममा जुन टिमले बढी पोइन्ट पाउँछ, त्यो टिम नै विजेता घोषित हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ