arrow

मंसिर ७ को काठमाडौँ प्रदर्शन

संवैधानिक राजसंस्था–हिन्दू राज्यवादी र एमालेको छुट्टाछुट्टै मिसन, सुरक्षा चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
7 mangsir 2080.jpg

काठमाडौँ । मंसिर ७ को प्रदर्शनलाई एमालेले ‘मिसन’को रुपमा लिएको छ । सोही दिन पूर्वराजाको नाम लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईले देशभरबाट समर्थकहरु काठमाडौँ उतार्ने भनेपछि युवा संघले गर्ने भनेको प्रदर्शनमा एमालेले ‘मिसन’को रुप दिएको हो । 

एमालेले पहिलो चरणमा २३ वटा जनसंगठनलाई प्रदर्शनमा उतार्ने भएको छ । ‘काठमाडौँमा भएको सबै कार्यकर्तालाई प्रदर्शनमा आउन निर्देशन दिएको छ’, एमाले कार्यालय सचिवालयले भन्यो । 

जनसंगठन संयन्त्रले मंसिर ७ लाई लक्षित गरेर शनिबार भेला गरेपछि यो मिसनको रुपमा अघि बढेको हो । एमाले जनसंगठन संयन्त्र प्रमुख पोलिटब्युरो सदस्य भानुभक्त ढकालले एमालेको युवा संघले मात्र यो प्रर्दशन गर्ने होइन भन्दै यसमा सबै २३ वटै संगठनहरु परिचालन हुने बताए । 

‘हामीले सरकारविरुद्ध आन्दोलन गरिरहेका थियौँ, कुशासनविरुद्ध आन्दोलन गरिरहेका थियौँ, जनसंगठनहरु त्यसको विरोधमा थिए, तर यहाँ कुनै एक व्यक्तिको नाममा प्रतिक्रियावादीहरु सल्बलाउन थाले यसलाई एमालेले टुलुटुल हेरेर बस्दैन शान्तिपूर्ण ढंगले प्रतिवाद गर्न चाहन्छ’, जनसंगठन संयन्त्र संयोजक ढकालले भने । 

उनका अनुसार एमालेका शक्तिशाली जनवर्गीय संगठनहरु युवा–विद्यार्थी, सम्पर्क मञ्च, रिटनी फेडरेशन, भूपू सैनिक संगठन लगायतको बाक्लो सहभागिता रहनेछ । 

‘हामीले एमाले र जनसंगठनको झण्डा अनिवार्य भनेका छौँ’ ढकालले भने । 

जनसंगठन संयन्त्र उपप्रमुख रचना खड्काले पनि युवा संघको प्रदर्शनमा पार्टीको पूर्ण साथ रहने र प्रदर्शनमा एमाले नेताहरु पनि सहभागी हुने बताइन् । 

‘सकेसम्म नेताहरु पनि त्यसदिन सहभागी हुनुहुनेछ’, खड्काले भनिन् । उनका अनुसार प्रदर्शन सरकारले तोकेको स्थानमा मात्रै हुनेछ । 

स्रोतका अनुसार एमालेले प्रदर्शनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थान तय गरिसकेको छ । 

‘युवा संघ इन्चार्ज महेश बस्नेतले माइतीघरदेखि बानेश्वरसम्मको ठाउँ माग्नु भएको छ’, उच्च सुरक्षा स्रोतले भन्यो । महेश बस्नेतले जिल्ला प्रशासन कार्यालय काठमाडौँ प्रहरी परिसर र प्रधानमन्त्री कार्यालयलाई पनि आफ्नो पार्टीको प्रदर्शन रहेको जानकारी दिइसकेको स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको बताउँदै शान्तिपूर्ण प्रदर्शन गर्न निर्देशन दिइसकेका छन् । 

शनिबार काठमाडौँमा जनसंगठनको भेलालाई सम्बोधन गर्दै ओलीले ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउन निर्देशन दिएका थिए । 

उनले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै  शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गर्ने बताएका थिए । 

उनले लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई शान्तिपूर्ण रूपमा औँलो तल झारिदिने बताएका थिए ।

‘हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो । बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यसकारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु । लोकतन्त्रविरुद्ध लड्ने कुरा त छोड्दिउँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ’, ओलीले सम्बोधनको क्रममा भनेका थिए । 

युवा विद्यार्थी अगाडि रहेर गरिने सो प्रदर्शनमा निषेधाज्ञा भने नतोड्न पनि निर्देशन दिएका थिए । साथै सरकारले रुट तोकेमा सोही रुटमा प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।  

उनले पुगेसम्म रातो टोपी लगाउन, सबैलाई झन्डा बोकेर प्रदर्शन गर्न निर्देशन दिएका छन् । प्रदर्शनको नेतृत्व भने युवा संघका अध्यक्ष क्षितिज थेवेले गर्नेछन् । मंसिर ७ गते सुरक्षा अवस्था गम्भीर हुन सक्छ भन्दै सुरक्षा संयन्त्र कडा पारिएको पनि जनाइएको छ । 

सोही दिन संवैधानिक राजसंस्था र हिन्दू राज्यको पक्षमा काठमाडौँमा विशाल प्रदर्शन गरिन लागिएको छ । त्यसको नेतृत्व दुर्गा प्रसाईले गर्दैछन् । प्रसाईले हरेकजसो जिल्लाबाट समर्थकहरु जुटाउन गाडीकोसमेत व्यवस्था गरेर प्रचारप्रसार गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ