arrow

केपी ओली कपमा बागमतीको विजयी सुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
Bagmati.jpg

पोखरा । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो ।

सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

खेलमा जीतका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको आयोजक रातो १४ ओभरको दोस्रो बलमा अलआउट हुँदै जम्मा ७५ रनमात्र जोड्न सफल भयो । 

‘म्यान अफ दि म्याच’ घोषित बागमतीका रीत गौतमले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७४ रनको महत्वपूर्ण पारी खेले ।

शुभ कंसाकारले २२ बल खेल्दै २७ रन बनाए । 

आयोजक रातोका बिप्रासन केसीले दुई तथा सन्देश थापा र सन्तोष यादवले समान एक-एक विकेट लिए ।

बागमतीका सन्दीप लामिछानेले चार तथा सुवास खत्रीले तीन विकेट लिए ।

आयोजकका अमर मिश्र र विजय प्रजापतिले समान १३-१३ रन, सन्तोष यादव १२ र निर्मल थापाले १० रन बनाए पनि अन्यले दोहोरो अङ्कको रन ल्याउन सकेनन् । 

शुक्रबार दोस्रो दिनको खेल कर्णाली र बागमती प्रदेश तथा दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गरिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । 

प्रतियोगिताको उद्घाटन अध्यक्ष ओलीले गरेका हुन् । 

प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् । 

यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ