arrow

पोखरामा आईटीएफ टेनिस प्रतियोगिता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
lawntennis-new.jpg.jpeg
तस्बिर – फाइल ।

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आईटीएफ) जे-३० टेनिस प्रतियोगिता शुरु भएको छ ।

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा शुरु प्रतियोगिता दुई सातासम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले उद्घाटन गरिन् । 

टेनिस कोर्टमा शनिबार र आइतबार छनोट चरणका खेल सञ्चालनपछि आजदेखि प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता छ ।

महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ नेपालसहित आठ देशका खेलाडी सहभागी छन् ।

नेपालबाट १०, भारतबाट ४४, जापानका चार, अमेरिकाका दुई तथा रसिया, क्यानडा, चीन र श्रीलङ्काबाट एक/एक जना जना खेलाडीले भाग लिएका छन् ।  

यसैगरी महिलातर्फ नेपालबाट सात, भारतबाट ३०, जापान, थाइल्याण्ड, अमेरिका, नर्वे, काजकिस्तानलगायतका देशबाट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ । 

विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइन लिस्टले नौ, क्वाटरफाइन लिस्टले पाँच र अन्तिम १६ मा पुग्नेले आईटीएफको दुई अङ्क पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका नं १ टेनिस खेलाडी प्रदीप खड्का र नेहाल जङ्ग थापालाई सम्मान गरिएको थियो ।

खड्का र थापाले हालै काठमाडौँमा सम्पन्न गणेशमानसिंह राष्ट्रिय टेनिसका डवल्सतर्फका स्वर्णपदक विजेता हुन् । खड्काले एकलतर्फसमेत उपाधि जितेका थिए ।

कार्यक्रममा मन्त्री सिंखडाले प्रतियोगिता पोखराको खेल पर्यटन प्रवर्द्धनमा सहयोगी हुने बताइन् । 

उनले टेनिस खेल विकासका लागि पूर्वाधार निर्माण र खेलाडीको सुविधाका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

मन्त्री सिंखडाले भनिन्, “प्रदेश सरकार खेलकुद विकासका लागि योजनाबद्ध अघि बढेको छ । खेल क्षेत्रलाई व्यावसायिक बनाउँदै अघि बढ्नु आवश्यक छ । खेल क्षेत्रका विसङ्गति हटाउन सबैको सहयोग र साथ आवश्यक हुन्छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ