पोखरा । नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य गंगाधर पराजुली पदबाट बर्खास्त भएका छन् । मंसिर १० गते पार्टी सभापति किशोरदत्त बरालले पराजुलीलाई बर्खास्त गरेका हुन् ।
बराल र पराजुली दुवै पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् । बरालका निकै विश्वासपात्र मानिने पराजुलीलाई सभापति आफैँले जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।
सभापति बरालले पराजुलीले पार्टीलाई सहयोग नगरेका कारण पदमुक्त गर्नु परेको बताएका छन् । ‘उहाँलाई सहयोगको अपेक्षासहित मनोनित गरेको थिएँ । तर उहाँबाट अपेक्षित सहयोग भएन । उहाँ देश बाहिर पनि हुनुभयो । घरमा पनि नभएकाले बढी योगदान गर्न सक्ने व्यक्तिलाई मनोनित गर्नेगरी उहाँलाई पदमुक्त गरेको हुँ ।’
यता, बर्खास्तमा परेका पराजुलीले सभापतिलाई आफ्नो कार्यशैली सुधार गर्न पटक पटक आग्रह गर्दा बेवास्ता गर्ने गरेको र पार्टीको विधिविधान अनुसार चल्न नसकेको आरोप लगाएका छन् ।
सुझाव नमानेपछि म आफैँले हटाउन आग्रह गरेको पराजुलीले बताए । केही अघि पत्रकारितामा सक्रिय पराजुली पार्टीको १४औं महाधिवेशनपछि सक्रिय राजनीतिमा होमिएका थिए ।
उनी पार्टीको १४औं महाधिवेशन तथा पोखरा महानगरको प्रथम अधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तर झिनो मतान्तरले पराजित भएका थिए ।