arrow

हेटौँडा कप एसियाली खुला बुद्धिचालमा सुभयान र मिनहाज उपाधितर्फ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
hetauda-cup-2080-08-16.jpg

हेटौँडा । मकवानपुरको हेटौँडामा जारी हेटौँडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा शनिबार सातौं चरणको खेल सम्पन्न भएको छ । 

होटल सामनामा जारी प्रतियोगितामा भारतीय २३९३ रेटेड शीर्ष खेलाडी सुभयान र बंगलादेशी खेलाडी मिनहाज उद्दिन उपाधि नजिक पुगेका छन् । सुभयानले भारतकै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटीबाट खेल आरम्भ गरेका थिए । 

उक्त खेलमा राहुलले छैटौँ चाल अन्तर्गत बिसप डी सिक्स चाल्दै सानो गल्ती गर्न पुगे। जसको फाइदा लिँदै सुभयानले सोह्र चालभित्र छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे । 

सुभयानले सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अंकका साथ अग्रस्थान बनाएका छन् । आठौँ चरणको खेलमा उनले बंगलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसँग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन् । 

यस प्रतियोगिता मार्फत  ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आईएम उपाधि प्राप्त गर्ने लक्ष रहेको उनले बताए । शनिबारै सम्पन्न दोश्रो बोर्डमा २२१७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जीत दर्ता गर्दै ६ अंकका साथ संयुक्त अग्रस्थानमा उभिन सफल बने। 

आईएम  मिनहाजले ओपन सिसिलियन भारिएशन इफोसी सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्सबाट खेल शुरु गर्दै ४२ औँ चालमा चलाखी गर्दै पाउन अप गरे । 

उपाधिका लागि जित्नै पर्ने आठौँ चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसँग कालो गोटी लिएर खेल्ने छन् ।

सह आयोजक हेटौंडा चेस क्लबको व्यवस्थापनमा चलिरहेको प्रतियोगितामा बंगलादेशी एफएम नयम हक ,भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोश्रो स्थानमा सुरक्षित रहन सफल भएका छन् । 

आठौँ चरणको खेलमा नयन हकले अबु शेखसँग, अमरदीपले अर्बिन्दर प्रितसँग, नासिर शेखले सुभयानसँग र सरिफ होसेनले मिनहाजसँग कडा प्रतिस्पर्धा गर्ने छन् ।

सह आयोजक मकवानपुर बुद्धिचाल संघको रेखदेखमा भइरहेको अन्तर्राष्ट्रिय खेलमा एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडी द्वय  पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर नेपाली खेलाडी मध्येवाट अगाडि रहन तछाडमछाड गरिरहेका छन् । 

उनीहरुसँगै पूर्व नेपाल च्याम्पियन एफएम  पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन् । 

यसैगरी भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन्। 

नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन्। 

आइतबार पुरस्कार वितरण एवं समापन समारोह गर्दै सम्पन्न हुने एसियाली खुला बुद्धिचाल प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख सतासी हजार पाँच सय रुपैयाँ रहेको छ । 

शीर्ष १५ खेलाडी, सर्वोकृष्ट महिला, वेष्ट लोकल,  वेष्ट भेट्रान, यू १०, यू१२, यू१४, यू१६, यू१८, वेष्ट अनरेटेड र १५००, १७००, १९०० मुनिका रेटेड खेलाडीहरू गरी ३८ जना प्रतियोगितामा सहभागी विजयी खेलाडीलाई वितरण गरिने जानकारी मकवानपुर जिल्ला बुद्धिचाल संघलाई संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी गराएका छन् ।

प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा नेपाल खेलकुद महासंघको आयोजनामा सञ्चालन भइरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ