arrow

तिम्ल्याहा शिशु हुर्काउन रबिनालाई कठिनाइ, पालिकाले दियो लहिनो गाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
baby1.jpg

झापा । गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्वासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । 

दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो ।

सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन् । घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन् । यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो ।
 
ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्वासी बस्तीमा बस्दै आएको छ । तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।

अहिले तीन जना शिशु हुर्काउन पत्नी एक्लैले नसक्ने भएकाले पतिसहित परिवारका सबै सदस्य लागेर स्याहार गर्दै आएका छन् । ज्यालादारी काममा जान नभ्याउँदा दैनिक कमाइ शून्य भएको छ ।
 
ताजपुरिया परिवारलाई खाद्यान्न सहयोग र लत्ताकपडाको खाँचो छ । ऐलानी जग्गामा रहेको भुइँघरमा ओछ्याउने र बस्ने न्याना कपडा छैनन् । शिशु बिरामी हुने जोखिम बढेको छ । शिशुलाई लगाइदिने पर्याप्त न्यानो कपडा परिवारसँग छैन । शिशु सुताउने कोक्रो नभएकाले साडीको कामचलाउ झोलुङ्गो बनाइएको छ । सुत्केरी आमा र शिशुलाई लामखुट्टेबाट जोगाउने झुल पनि छैन ।

गौरीगञ्ज गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुको भरण पोषणका लागि लहिनो गाई प्रदान गरेको छ । पालिकाको तर्फबाट अढाई लिटर दूध दिने एउटा लहिनो गाई निःशुल्क उपलब्ध गराइएको पालिकाकी उपप्रमुख पूजन न्यौपानेले बताए । 

नवजात तीन शिशुलाई हुर्काउन सहज होस् भनेर पालिकाले दुधालु गाई रु ३३ हजारमा किनेर दिएको उनले जानकारी दिइन् । 

नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा पनि पालिकाको टोलीले जानकारी लिएको थियो । अर्थाभावले सुत्केरी र नवजात शिशुको ताजा स्वास्थ्य अवस्थाको परीक्षण हुन सकेको छैन । 

यसैबीच जर्मनीमा रहेका गौरीगञ्जका गजेन्द्र न्यौपानेले पुष्प बरुवाल फाउन्डेसनमार्फत सुत्केरी ताजपुरियाको सहयोगका लागि रु ३० हजार पठाइदिएको पालिकाका उपाध्यक्ष न्यौपानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ