arrow

हेटौँडा कप एसियाली खुला बुद्धिचालको उपाधि कुण्डूलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
hetauda-cup-2023-winner.jpg

हेटौँडा । हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी सुभयान कुण्डूले जितेका छन् । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा ६ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको नौ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित रहँदै ७.५ अंक बनाएर २३९३ रेटेड शीर्ष खेलाडी कुण्डूले उपाधि जितेका हुन् । 

उपाधिसँगै उनले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार राशी हात पार्न सफल भएका छन् । कुण्डूले अन्तिम खेल बराबरी गर्दासमेत उपाधि आफ्नो नाममा रहने भए पनि बंगलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल विजेता बनेका हुन् । 

नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न यस प्रतियोगितामा ७–७ अंक जोड्दै दोश्रो स्थानका बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले ७५ हजार र तेश्रो स्थानका भारतका एफएम अरबिन्दर प्रित सिंले ४० हजार रुपैयाँ जिते । 

होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतकी महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अंक प्राप्त गर्दै चौथौदेखि दशौँ स्थानमा समेटिन सफल भएका छन् । 

हेटौँडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौँ , नेपालका एआईएम शुश्रुत दहाल बाह्रौँ, डेवोस्निक तेह्रौँ, आशिष राज चौधौँ र भारतका आदित्य बर्टके पन्ध्रौँ स्थानमा रहे । 

यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोश्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनि रानासिंघे महिला प्रथम, इसानाभि दोश्रो, बेष्ट युथ यू–१० इस्माइल सिद्धिकि, ओम कश्यप, यू–१२ कुमार भमरद्वाज, अविन पाण्डे, यू–१४आयुश डेमानराउरा, अत्रिञ्जय, यू–१६ देव राज , पुरुषोत्तम सिलवाल, यू–१८ कमद मिश्र, मुहान श्रेष्ठ, बेष्ट अनरेटेड रसिक सिद्धिकी, स्वर्णिम दुवाल, अन्डर १५०० रेटेडमा नेपालका कुशल बेलबासे, रोहन कुमार, अन्डर १७०० रेटेड अक्षत नेगि, शिभम चौधरी, अन्डर १९००रेटेड मोहित कुमार, सोम्यजित दासले क्रमशः फरक क्याटेगोरीहरुमा उत्कृष्ट रहँदै पुरस्कार प्राप्त गर्न सफल भएका छन्। 

मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण एवं समापन समारोहमा प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, पाब्सनका, बागमती अध्यक्ष केशवलाल श्रेष्ठले सम्पूर्ण विजयी खेलाडीहरुलाई नगद पाँच लाख ८७ हजार ५०० रुपैयाँ, ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरे ।

समापन कार्यक्रममा मन्त्री मोक्तानले एसियाली स्तरको बुद्धिचाल खेल प्रवर्द्धन गर्न बागमती प्रदेश सरकार र प्रदेश खेलकुद विकास परिषद् हातेमालो गर्न तत्पर रहेको बताइन् ।

प्रतियोगिताका निर्देशक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले आगामी साल जिम नर्म प्रतियोगिता गर्ने घोषणा गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ