- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बिहीबार बिहान बस्दैछ । बैठक बिहान ९ बजे बस्न लागेको हो । बैठकमा नेपाली सेनाको रथीमा बढुवा सिफारिस भएका वरिष्ठ उपरथी अशोकराज सिग्देलको नाम अनुमोदन हुने जनाएको छ ।
त्यसैगरी सन्तोष बल्लभ पौडेलको उपरथीमा बढुवा हुने जनाइएको छ । रथी हुँदै गरेका सिग्देल ९ महिनापछि नेपालको ४५ औँ प्रधानसेनापति बन्ने निश्चितजस्तै भएको छ ।
सिग्देलका बारेमा कुनै कैफियत नरहेको र केही बेनामे उजुरीउपर नेपाली सेनाले छानबिन गरेर उनको फाइल रक्षा मन्त्रालयमा पठाएको सैन्य स्रोतले जनाएको छ ।
सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले यस विषयमा छानबिन गरेको थियो ।
उक्त छानबिनमा एसएलसीको प्रमाणपत्र र नागरिकतामा भएको जन्ममितिमा कुनै विवाद नदेखिएपछि सिग्देलको नाम सिफारिस भएको हो ।
सोही अनुसार रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकारसमक्ष बढुवा सिफारिस गरेको हो ।
बिहीबार रथी भएसँगै सिग्देल आगामी साउन २४ गतेबाट कायममुकायम प्रधानसेनापति बन्ने लगभग पक्का छ ।
तनहुँमा जन्मेका सिग्देलको स्थायी घर रुपन्देहीको भैरहवा हो । सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन् ।
सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकृतका रूपमा पहिचान बनाएका सिग्देललाई विवादमा तान्ने काम सेनाभित्रकै एक समूहले गरिरहेको जंगीअड्डाको दाबी छ ।
मंगलबारमात्र प्रधानसेनापति प्रभुराम शर्माले कुनै पनि सैन्य अधिकृतलाई विवादमा तान्ने प्रयास सहनयोग्य नहुने बताएका थिए ।
कमाण्डिङ अफिसर्स ओरिएन्टसन कार्यक्रमलाई सम्बोधन गर्दै अरुलाई अयोग्य ठहर्याएर आफू अगाडि बढ्न नसक्ने बताएसँगै यस्तो प्रकरणको टुंगो लागेको संकेतसमेत गरेका छन् ।