arrow

आइटीएफ टेनिस : नेपाली मूलका आरबको समूह च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
ITF.jpg

पोखरा । पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटीएफ) को जे-३० प्रतियोगितामा पुरुष डबल्सतर्फ नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी च्याम्पियन बनेको छ ।

महिलातर्फ भने जापानका उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम हुन सफल भयो । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न डबल्सतर्फको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६-२, ६-३ मा पराजित गरी आरभ र रिकुको जोडी प्रथम हुन सफल भयो ।

महिलातर्फ भारतका भेनेला रेडी गारुगुपाटी र सायवी गौरव दलालको जोडीमाथि आसाकुरा र महेश्वरीको जोडीले ६-३, ६-३ मा जीत हासिल गरेको हो ।

यसैगरी प्रतियोगिताको पुरुषतर्पm उपाधिका लागि आरब सम्राट हाडा र एलेक्से सिवोइले प्रतिस्पर्धा गर्नेछन् । पुरुष एकलतर्फको आज सम्पन्न सेमिफाइनलको खेलमा आरबले जापानका रिकु हिगासीलाई ६-३, ६-३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जीत हासिल गर्दै फाइनलमा स्थान बनाए ।

महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवाला फाइनल पुगेकी छन् । आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६-१, ६-१ ले तथा खोराकीवालाले भारतकै भामिका शर्मालाई ६-१, ६-० मा पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।

दुई सातादेखि सञ्चालन भइरहेको प्रतियोगिताको समापन शनिबार हुने आयोजक कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए ।

प्रतियोगिताको डबल्सतर्फको विजयी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रतियोगिता निर्देशक अजय विष्ट लगायतले पदक तथा प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गरेका छन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ ।

विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, ‘सेमिफाइनलिष्ट’ले नौ, ‘क्वाटरफाइनलिष्ट’ले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क पाउने प्रतियोगिता निर्देशक विष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ