arrow

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
pakrau9.jpg

काठमाडौँ । मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका-१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।  

आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै खड्काका परिवारबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निजहरुमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।    

गाँजासहित महिला पक्राउ 

काठमाडौँ महानगरपालिका-१५ तल्लो विजेश्वरीस्थित विष्णुमती करिडोरकी ३३ वर्षीया इन्दिरा श्रेष्ठलाई गाँजा जस्तो देखिने अवैध लागूऔषध एक सय ९० ग्रामसहित मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनको किराना पसलमा लागूऔषध बिक्री वितरण गरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ