arrow

इजरेलमा ज्यान गुमाउनेका परिवारलाई भयो ‘मन भुलाउनै गाह्रो’

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
israel-nepali-killed-2023.jpg

कैलाली । दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरेलमा ज्यान गयो । श्रीमान् गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छन् । छ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ ।

“एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन”, मञ्जुले भनिन्, “छोराछोरीको भविष्यको चिन्ताले सताउँछ । बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिनँ ।” आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उन बताउँछन् । 

“राज्यले क्षमताअनुसारको रोजगारी दिएको भए मन भुलाउने बाटो हुन्थ्यो । त्यो घटना बिर्सने आधार बन्थ्यो”, मञ्जु भन्नुहुन्छ, “रकम पाएर र सान्त्वनाले मन भुलाउन गाह्रो छ । छोराछोरीको शिक्षा तथा रोजगारीका लागि सरकारसँग आश गरेकी छु ।”

इजरेल घटनामै सुनसरीका राजेश स्वर्णकारको पनि ज्यान गयो । उनको परिवारलाई पनि पीडा भुलाउन मश्किल भएको छ । “खाइनखाइ गरेर बुढेसकालको सहारा होला भनेर छोरा पढाए, छोरो सधैँका लागि बिदा भएर गयो । अब बुढेसकालको सहारा कहाँ गएर खोजौँ ?”, राजेशकी आमा कैलाशदेवी स्वर्णकार भन्नुहुन्छ, “राज्यले परिवारको एउटा सदस्यलाई रोजगारी दिएको भए हाम्रा लागि ठूलो राहत हुन्थ्यो । पीडा भुलाउने बाटो बन्थ्यो ।”
 
चार वर्षको उमेरमा बुबा गुमाएका दार्चुलाका दिपेशराज विष्टको लालनपालन कान्छी आमा जयन्ती विष्टले गरिन् । जागिरको सिलसिलामा दिपेशकी आमाले बाहिर हुँदा कहिल्यै उनलाई बाबुआमाको अभाव महसुस हुन नदिएकी जयन्तीले विगतबारे बोल्नै सकिनन् । 

“म कान्छी आमा भए पनि आमाको अभाव हुन नदिएर हुर्काएको दीपेश कहिल्यै नफर्कने भयो”, जयन्ती भन्छिन्, “इजरेलमा ज्यान गुमाएका १० जनाको सम्झनामा सुदूरपश्चिम विश्वविद्यालयले उद्यान निर्माण गरोस् । त्यहाँ उनीहरूको सालिक बन्ने अपेक्षा छ ।” 

इजरेलमै ज्यान गुमाएका डोटीका राजन फुलाराका काका टीका १० विद्यार्थीको सम्झनामा क्याम्पसले उद्यान निर्माण गरेर सालिक निर्माण गर्नुपर्ने बताउँछन् । “परिवारका सदस्यको शिक्षा र रोजगारीको ग्यारेन्टी गरे राहत मिल्थ्यो ।” हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल उद्धार गर्न उनले सरकारसँग माग गरे । 

फुलाराले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा राजनको नाममा अक्षयकोष निर्माण गर्ने बताए । राजनको स्मृतिमा रु एक लाख ५१ हजार एक सय ५१ को अक्षयकोष निर्माण गर्ने उनको उनको योजना छ । राजनले अध्ययन गरेका अन्य दुई विद्यालयमा पनि राजन फुलारा स्मृति अक्षयकोष निर्माण गरिने फुलारा बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ