arrow

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० मंसिर २८ बिहिबार
roshi-rastrapati-running-sh.jpg

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । बिहीबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले ४ दिनसम्म चल्ने रनिङ शिल्डको उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्षले प्रतियोगिताको उद्घाटन गर्दै खेलले आफ्नो व्यक्तित्व विकास गर्नुका साथै समाज र राष्ट्रलाई योगदान गर्ने अवसर मिल्ने बताएका छन् । खेलमा उत्कृष्ठता देखाउँदै गएमा देशलाई अन्तराष्ट्रमै पहिचान दिन सफल हुने लामाको भनाइ छ । खेलको माध्यामबाट जिल्ला, प्रदेश, राष्ट्र र अन्तराष्ट्रमै रोशीको नाम चिनाउन सफल हुनको लागि अध्यक्ष लामाले शुभकामना दिए ।

राष्ट्रपति रनिङ शिल्डले रोशीको विद्यालयहरूमा उत्कृष्ठ खेलाडीहरू जन्माउन सफल भएको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताएका छन् । खेलमा सिकेको व्यवहारहरूलाई जीवनमा उतारेर सफल व्यक्तित्व निर्माण गर्न उपाध्यक्ष वाईबाले खेलाडीहरूलाई अनुरोध गरे ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राख्दै राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकाको बिरासत बोकेको कार्यक्रमको रुपमा राखेको बताए । 

रनिङ शिल्डमा जिल्ला, प्रदेश र राष्ट्रमै रोशी गाउँपालिकाको नाम स्वर्णाक्षरले लेख्ने गरी खेल प्रस्तुत गर्न तामाङले आग्रह गरे । रोशी गाउँपालिका भित्रको ७२ वटा विद्यालय, ६ हजार भन्दा बढी विद्यार्थी र ४ सय ५० भन्दा बढी शिक्षकहरूलाई समेट्ने यो खेलको महत्व उनले रहेको बताए । राजाको नाममा रहेको शिल्डलाई राष्ट्रपतिको नाममा ल्याएर खेलमा पनि संघीयता कायम गरेको उनको भनाइ छ ।

जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर लामाले खेलाडी कहिल्यै पनि नहार्ने र सधै जित्ने बताए । खेलाडी खेलमा हारे पनि स्वास्थ्यमा जहिल्यै पनि जित्ने भएकाले खेल मानव जीवनमा महत्वपूर्ण रहेको बताए ।

यो प्रतियोगिताले व्यक्तिलाई अनुशासनमा डोहोर्याउने काम गर्ने भएकाले मानव जीवनमा खेलको महत्व रहेको रोशी गाउँपालिका वडा नं ११ का वडाध्यक्ष अशोक गौतमले बताए ।

रोशी गाउँपालिका वडा नं ७ मा अवस्थित रोशी माद्यमिक विद्यालयमा शुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकामा चौथोपटक हुँदैछ । गाउँपालिकामा तीन वर्षदेखि प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेको छ । 

प्रतियोगितामा भलिबलमा छात्र ८ समूह र छात्रा ६ समूह, कबड्डीमा छात्रको ९ समूह र छात्राको ९ समूह, हाइजममा छात्रको ११ समूह र छात्राको ११ समूह, लङजममा छात्रको १३ समूह, छात्राको ११ समूह, सर्टपुटमा छात्रको १३ समूह र छात्राको ११ समूह, त्रिपल जम्पमा छात्रको ८ समूह, छात्राको ८ समूह, ज्याबलिन थ्रोमा छात्रको ९ र छात्राको ८ समूह, दौडमा छात्रको १४ समूह र छात्राको १४ समूह र रिले दौडमा छात्रको १२ समूह र छात्राको ११ समूहले भाग लिएको छ । 

फुटबल र करातेको सिधै जिल्लामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल योग खेलकुद संघका केन्द्रीय सदस्य भेषराज शाह, जुडो संघका अध्यक्ष भिमसेन केसी, विभिन्न विद्यालयका शिक्षक अविभावक, विद्यार्थीलगायत खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ