- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक बस्नका लागि निकै नै सकस भएको छ । तीन पटक मिति तय गरेर पनि बस्न नसकेको बैठक अब चौथो तिथिमा गएर रोकिएको छ ।
सो तिथिअनुसार बैठक फागुन ७ देखि १० गतेसम्म हुनेछ । यद्यपि कांग्रेसको विगतको मिति सार्ने बानीलाई हेर्ने हो भने यो मिति पनि नसर्ला भन्ने ग्यारेन्टी छैन । कांग्रेसमा लागेको बानी कहिँ नजाने भनेझैँ मिति सार्नलाई कुनै तिथि कुर्नै पर्दैन ।
त्यसो त अघिल्लो साता नै महासमिति सार्ने चर्चा भइरहेको थियो । जाडोे मौसमलेसमेत यो महासमिति बैठकलाई रुचाएको थिएन ।
त्यसपछि त्यसमा पनि थपियो राष्ट्रिय सभाको निर्वाचन । सहमहामन्त्री जीवन परियारका अनुसार पहिलेदेखि नै सार्ने हल्ला भइरहेको थियो । राष्ट्रिय सभामा २० सांसद ल्याउनु पर्ने हुनाले पनि पटक पटक बैठक बस्नुपर्ने, उम्मेदवार तय गर्नुपर्ने भएकाले पनि यो बैठक सार्नुपरेको हो ।
सभापति शेरबहादुर देउवाले नरुचाएको जाडोलाई राष्ट्रिय सभाको निर्वाचनले बहाना बनाइदियो ।
यसले गर्दा आफ्ना निकटस्थलाई उम्मेदवार बनाउन थप खेल्ने अवसर मिलेको छ ।
विभिन्न आन्तरिक छलफलका क्रममा भने सभापति देउवाले आफूले महासमिति बैठक सार्न नखोजेको बताउने गरेका थिए । यो आधारमा उनले अरुलाई देखाएर समय सारेको बुझिन्छ । तर संस्थापन पक्षका एक नेताले भने सभापतिले नचाहेर कहिल्यै पनि बैठक नसर्ने बताए ।
पटक पटक विभिन्न बहानामा सरिसकेको छ । अहिले आएर लामो समयका लागि बैठक सरेको हो ।
संस्थापन इतर पक्षले भने समयमै हुनुपर्छ भनिरहेको भए पनि सभापतिको हठका अगाडि कसैको केही लाग्दैन भन्ने फेरि पनि स्पष्ट भएको छ ।
यसअघि मंसिर १३ देखि १५ गतेसम्म गर्ने भनिएको बैठक दुई साता पर धकेलिएर मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियोे ।
त्यसपछि पुस १६ देखि १९ सम्म धकेलिएको थियो । अहिले त दुई महिना पर धकेलियो ।
शुरुआती चरणमा हल नभएको कारण तथा त्यसपछि जाजरकोट भूकम्पका कारण बैठक सरेको थियो । त्यसपछिको बैठक कुनै बहाना नगरी सारिएको थियो ।
कस्तो छ महासमितिको तयारी ?
अब बैठक नै लामो समयका लागि सरेपछि तयारी फेरि सुस्तियो भन्दा फरक पर्दैन । तर अझै पनि दुई दर्जन क्षेत्रमा महासमिति प्रतिनिधि चयन हुन नै बाँकी छ ।
यद्यपि निर्वाचन समिति सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार सबै क्षेत्रलाई मंसिर २० गतेभित्रै निर्वाचन गरेर महासमिति प्रतिनिधिको नामावली दिन भनिएको थियो ।
त्यसैगरी केन्द्रको तयारी पनि तीव्र रुपमा भइरहेको पार्टी मुख्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए पनि अब समय फेरि लम्बिएको छ ।
देशभरबाट महासमिति बैठकका लागि अढाई हजार महासमिति सदस्यहरु काठमाडौँ आउने छन् ।
महाधिवेशनपछिको शक्तिशाली बैठक हुने भएकाले पनि यसका लागि तँछाडमछाड हुनु स्वभाविकै हो ।
यो बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन बाहेक महाधिवेशनले गर्ने सबै कार्यहरू गर्न सक्ने वैधानिक व्यवस्था भएकाले पनि यसको महत्व निकै छ ।
यही बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्नेदेखि विधानसमेत फेरबदल गर्न सक्ने हैसियत राख्छ । त्यसैले पनि संस्थापनले यो बैठकलाई अलिअलि गरी पछाडि धकेलेको आरोप संस्थापन इतर पक्षले लगाउने गरेको छ ।