arrow

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकबीच एकीकृत व्यापारी व्यवस्थापन प्रणाली संचालन गर्न सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
get-pay-machhapuchhre.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले सोमबार ‘एकीकृत व्यापारी व्यवस्थापन प्रणाली’ (गेट पे) संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् । 

उक्त सम्झौता पत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका थिए ।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस संचालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । 

सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्ने जनाइएको छ । 

यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरु तथा संजालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पेमा रहेको बैंकले जनाएको छ । 

सम्झौता पछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ