arrow

आईपीएल अक्सन, ३३३ मध्ये ७७ खेलाडी बिक्री हुँदै, परेनन् नेपाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
ipl-trophy.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी अक्सन आज यूएईको दुबईमा हुँदै छ । आईपीएल अक्सन नेपाली समय अनुसार दिउँसो १ः१५ बजेदेखि शुरु हुने छ भने यसको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्स नेटवर्क र जियो सिनेमा एपमा हुने बताइएको छ ।

आईपीएलको मिनी अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जानकारी दिएको छ । जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्री हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।

आईपीएल फ्रेन्चाईजीले कम्तीमा १८ र बढीमा २५ खेलाडी टिममा समावेश गर्न सक्ने नियम रहेको छ, जसमा विदेशी खेलाडी बढीमा ८ जनासम्म राख्न पाउँछन् । 

यस अक्सनमा सबैभन्दा बढी कोलकोता नाइट राइडर्सको ४ विदेशी खेलाडीसहित १२ खेलाडी स्लट खाली रहेको छ । त्यस्तै दिल्ली क्यापिटल्सको ४ विदेशीसहित ९, गुजरात टाइटन्स, मुम्बई इण्डियन्स, पञ्जाव किंग्स र राजस्थान रोयल्सको ८(८ खेलाडीको स्लट बाँकी रहेको छ । 

त्यस्तै चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादको ६(६ खेलाडीको स्लट बाँकी रहेको छ ।

त्यसैगरी खेलाडी किन्न सबै भन्दा बढी रकम भने गुजरात टाइटन्ससँग ३८।१५ करोड भारु रहेको छ । त्यस्तै सनराइजर्स हैदराबादसँग ३४ र कोलकोतासँग ३२।७ करोड भारु रहेको छ । सबैभन्दा कम भने लखनउसँग १३.१५ करोड भारु रहेको छ ।

यस अक्सनमा विश्व क्रिकेटका केही ठूला नाम भने रहेका छैनन् । जसमा इङ्गल्याण्डका बेन स्टोक, जो रूट र जोफ्रा आर्चर, त्यस्तै बंगलादेशका शकिब अल हसन पनि यस आईपीएल अक्सनमा रहेका छैनन् । 

त्यस्तै हालै सम्पन्न क्रिकेट विश्वकपबाट उदाएका न्यूजिल्याण्डका भारतीय मुलका अलराउण्डर रचिन रविन्द्र यस अक्सनका मुख्य आकर्षण बन्ने देखिएको छ । उनको न्यूनतम मुल्य ५० लाख भारु रहेको छ ।

यस अक्सनका लागि २३ खेलाडीले अक्सनको उच्च मुल्य २ करोड आफ्नो न्यूनतम मुल्य तोकेका छन् । जसमा अस्ट्रेलियाका मिचेल स्टार्क, ट्राभिस हेड, भारतका बलर उमेश यादव र सार्दुल ठाकुर प्रमुख  रहेका छन् । त्यस्तै १३ खेलाडीले आफ्नो न्यूनतम मुल्य १.५ करोड तोकेका छन् ।    

परेनन् नेपाली खेलाडी

बीसीसीआईले जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनै पनि नेपाली खेलाडी समावेश गरिएको छैन । यस पटकको अक्सनमा एसोसिएट देशबाट केबल २ खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् ।

योसँगै नेपाली खेलाडीले आईपीएलमा खेल्ने प्रतिक्षा थप एक वर्ष लम्बिएको छ । यसअघि सन् २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहे पनि कुनै टिमले किनेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ