- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेशलाई अधिकार दिन ढिलाइ गर्न नहुने बताएका छन् ।
नेपाली कांग्रेसको काठमाडौँमा शुरु भएको प्रथम बागमती प्रदेशको उद्घाटनमा स्वागत मन्तव्य राख्दै बानियाँले सरकारसँगै कांग्रेसलाई अधिकार दिन ढिलाइ गर्न नहुने बताएका हुन् ।
बानियाँले मुलुक संघीयतामा गइसकेपछि प्रदेशको प्रथम सम्मेलन संघीयता सँगसँगै चुनौतीहरु थपिएको उल्लेख गर्दै संविधानअनुसार प्रदेशको अधिकार नपाइएको भन्दै गुनासो गरे ।
उनले संघीय व्यवस्थाप्रति जनताको गुनासो बढ्दै गइरहेको भन्दै मुख्यमन्त्रीहरु हतियार बिनाको सेनापति भएजस्तै भएको उल्लेख गरे ।
कानून बनेर पनि अधिकार प्रदेशमा नझरेको गुनासो गरे । उनले भने, ‘तीन तहको सरकारका अधिकारलाई आज पाँच वर्षको कार्यकाल पूरा भएर दोस्रो कार्यकाल प्रदेश संरचनामा संसदमा पुगेको अवस्थामा पनि संसदमा प्रदेश सभाको भूमिकाविहीन बन्न पुगेको छ ।’
सभापति बानियाँले प्रश्न गर्दै भने, ‘जनताको सेवा सुविधा लिने, तलबभत्ता खाने, झण्डा र डन्डा हल्लाउने तर झण्डा प्रदेशको डन्डा बोक्ने प्रहरी संघको रहने अनि यसरी संघीयता कति दिनसम्म चल्ने ?’
उनले यसअघिका दृष्टान्त केलाउँदै भने, ‘संघीय संरचना भनेको, राज्य भनेको हामीले हिजो सशस्त्र विद्रोहको अन्त्य गरेर नेपाली कांग्रेसले हरेक ऐतिहासिक जिम्मेवारी पूरा गरेर आएको छ, जहाँनियाँ राणा शासनको अन्त्य, राजाको संवैधानिक राजतन्त्र, राजा जनताको संविधानभित्र नबसेपछि राजा फ्याँक्दै, जनतासँग नाता जोड्दै सशस्त्र विद्रोह अन्त्य गरेर चुनाव गरेको र आज त्यही लोकतान्त्रिक, त्यही संघीयता, त्यही समावेशी व्यवस्थाको नेतृत्व गर्ने आज पार्टीको सरकार छ । गठबन्धनको सरकार छ । त्यसको लिड पार्टीका निडर लिडर हाम्रा श्रद्धेय सभापतिलाई हाम्रो आग्रह छ कि अब गणतन्त्रलाई संस्थागत र विकास र गणतन्त्रप्रति जनताको भरोसा जोगाउन अधिकारको बाँडफाँटलाई चाँडोभन्दा चाँडो प्रदेशको अधिकार दिन सकेनौँ भने अनर्थ हुन सक्छ ।’
उनले अगाडि भने, ‘जसरी पञ्चायत ३० वर्ष चल्यो, पञ्चायतीहरुले राजालाई गतिलो कुरा नसिकाउँदाखेरि र नसुनाउँदाखेरि कांग्रेसले खोजेको थियो कि दलमाथिको प्रतिबन्ध हटाइदेऊ, बहुदल स्थापना कांग्रेसको आन्दोलनको माग थियो, दलमाथिको प्रतिबन्ध हिजो पञ्चायतले नहटाउँदाखेरि बहुदल प्राप्त भयो । त्यसकारणले हिजो सशस्त्र विद्रोहका मागहरु हामीले सम्बोधन नगर्दाखेरि हिजो पहिचानका कुरा गर्ने माओवादी आज पहिचानको कुरा गर्दागर्दै जातीय कुरा गरेर शक्तिमा स्थापित भएर सशस्त्र विद्रोह गरेर हामीले शान्ति प्रक्रिया गर्न पर्यो । यदि हामीले बेलैमा सोचेनौँ भने आज राजाको कुरा गर्नेहरु, धर्मका कुरा गर्नेहरु, हामीले बुझेका छौँ धर्म भन्या व्यक्तिले धारण गर्छ राज्यले होइन । धर्म स्वतन्त्र हुन्छ । तर आज हिन्दू, मुस्लिम, क्रिस्टियन र विभिन्न बौद्धिष्ट सबैको आस्थाको प्रतिक मन्दिर, मस्जिद, गुम्बा होला । तर धर्मका कुरा उठेका छन् । हिजो पहिचानको कुरा उठेर जातको कुरा गरेर राज्यमा विद्रोह भयो । आज धर्मको कुरा गरेर धर्मको आडमा राजालाई स्थापित गर्न खोज्ने तत्वहरु जसलाई गणतन्त्र मन परेको छैन । नयाँ पार्टी जसले संघीय गणतन्त्रमा प्रदेशमा उम्मेदवारी दिएको छैन । अनि पुराना पार्टी पञ्चको पार्टी जसले प्रदेशमा प्रतिनिधित्व गरेको छ तर प्रदेश मन परेको छैन ।’
नेता बानियाँले तीन तहको सरकारमा प्रदेशमाथि नै चुनौती भएको उल्लेख गर्र्दै भने, ‘प्रदेश अधिकारविहीन भएको छ । चाँडोभन्दा चाँडो सम्बोधन गरिएन भने गम्भीर अवस्था आउने छ । पार्टीभित्र पनि यसलाई सम्बोधन गरेर अगाडि बढ्नु पर्छ ।’
उनले पार्टीका सबैले भुइँमा टेक्नुपर्नेमा जोड दिँदै विधान संशोधन गर्नुपर्ने बताउँदै भने, ‘विधानमा हामी चाहन्छौँ पार्टीको टिकट वडाको टिकट वडाको क्रियाशीलले दिनुपर्नेछ । कार्यविधि बनाएर घात र अन्तर्घात अन्त्य गर्न प्रदेशका साथीहरुले प्रदेशका माननीय चुन्न सक्ने बनाउनु पर्छ । ७० प्रतिशत कार्यकर्ताको मत र ३० प्रतिशत नेताको मत दिएर प्रक्रिया लोकसेवा जस्तो होस् । यसले घात र अन्तर्घात रोकिन्छ ।’
उनले पार्टीको विधान सँगसँगै मुलुकको संविधानमा पनि स्थिरता र दिगो विकास समेटिनु पर्ने उल्लेख गरे ।
कांग्रेस हुँदा खाने र हुनेखाने गरी सबै समेटिएको पार्टी भएको उल्लेख गर्दै सभपाति बानियाँले युवाहरु विदेश पलायन हुने क्रम बढ्दो रहेकाले यसलाई रोक्न कांग्रेसले आकर्षक कार्यक्रम ल्याउनु पर्ने बताए ।
उनले कांग्रेसका नेताहरुलाई तीन उमेर समूहमा विभाजन गरेर प्रतिशतका आधारमा केन्द्रीय समितिमा समेट्नु पर्नेमासमेत जोड दिएका छन् ।
उनले खेलकुदमा जसरी उमेर समूह हुन्छ त्यसकै शैलीमा पार्टीमा पनि उमेर समूह बनाएर प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिएका हुन् ।
बानियाँल १८–४०, ४०–६० र ६० वर्षभन्दा माथि गरी तीन उमेर समूहमा विभाजन गरेर प्रतिनिधित्व गराउनु पर्ने बताए ।
उनले भने, ‘यो पार्टी युवाको पनि हो र साठीदेखि माथिको पनि हो । केन्द्रमा सबै जानुपर्छ ।’
नेता बानियाँले मुलुकको संविधानमा के गर्दा स्थायित्व र के गर्दा जनताको स्थायित्व हुन्छ भनेर खोज्नुपर्नेमा जोड दिएका छन् ।
उनले सम्मेलनको बन्दसत्रमा अन्तिमसम्म सहभागी भएर आफ्ना विचार राख्दै । यहीँबाटै नीति महाधिवेशनमा विचारहरु लैजाने भएकाले विचार राखिदिन पनि सहभागी प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
बागमती प्रदेशको प्रथम सम्मेलनलाई केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।