arrow

बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
congress-central-2080-09-12.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । गत बिहीबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १२ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपीनगर सानेपामा जारी रहने भएको हो ।

हिजोको बैठकले बालकुमारीमा प्रहरीको गोलीबाट दुई नागरिकको हत्याको सबन्धमा छानबिनको माग गर्ने निर्णय गरेको थियो । कांग्रेसले कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर  ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाएको थियो। बैठकको निर्णयमा नेपाली कांग्रेसले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ ।

उसले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

‘बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्नुका साथै घटनामा घाइते भएकाहरुको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक नेपाल सरकारसँग माग गर्दछ’, सो बैठकको निर्णयमा भनिएको छ ।

साथै,  पुस १२ देखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुमध्ये अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एन।पी। साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।

सो बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ,अजयबाबु शिवाकोटी, किरण यादव, डा. गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, प्रदिपकुमार सुनुवार, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, प्रकाश रसाइली स्नेही, हरिशरण नेपाली, प्राडा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, सुशिला थिङ, रुपा विक, डा. जीवन राना, राधा घले, धना खतिवडा, कल्याणी रिजालले आ–आफ्नो धारणा राखेका थिए।

साथ‌ै,  प्रदेश सभापतिहरू मध्ये उद्धव थापा (कोशी प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।



नयाँ