arrow

वार्षिक ६० लाख बचाउन मन्त्रिपरिषद् बैठकको खाजा कटौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
pm-office-new-2080.jpg

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । 

मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ । 

सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको उनको भनाइ छ । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उनले बताए । 

सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन् । 

प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएको बताइएको छ । 

यसैबीच, नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवत्को मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ