- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री महेश आचार्यले राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको महसुस गरेर महामानव विश्वेश्वरप्रसाद कोइराला स्वदेश फर्किएको र त्यस समयमा बीपीले लिएको राष्ट्रिय एकता तथा मेलमिलाप नीति आजपनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
नेपाली कांग्रेस कास्कीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पोखरामा आयोजना गरेको प्रवचन कार्यक्रममा नेता आचार्यले त्यसबखत गणेशमान जी लगायतका नेताहरुले बीपीको प्रस्ताव स्वीकार नगरेको र पछि बीपीले सम्झाएपछि सँगै स्वदेश फर्कन तयार भएको प्रसंग सुनाए ।
त्यसबखत बीपीले भनेको कुरा उल्लेख गर्दै नेता आचार्यले कार्यक्रममा जोड्दै भने, ‘यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन् । महाराजाधिराजलगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कंदैछौँ ।’
उनले भने बीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनासमेत गरे ।
कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको नेता आचार्यले उल्लेख गरे ।
अहिले मुलुकमा आइलागेको संकट राष्ट्रिय एकताको अभावका कारण भएको भन्दै नेता आचार्यले थपे, ‘हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।’
उनले बीपीको विचारलाई कांग्रेसले आफ्नो मार्गदर्शन बनाउनुपर्ने र त्यसलाई व्यवहारमै लागू गर्न आवश्यक रहेको स्पष्ट पारे । बीपी नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय जगतले नै मानेको नेता भएको उनले बताए । विदेश नीति होस् या आन्तरिक राजनीतिमा होस् बीपीको नीति सधैँ सान्दर्भिक हुने उनले स्पष्ट पारे ।
‘राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ । तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन् भन्ने बीपीको विचार थियो’, उनले भने ।
कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले नेपाली माटोले बीपी र उहाँको योगदानलाई कहिल्यै भुल्न नसक्ने बताइन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटव्यूरो सदस्य श्रीनाथ बरालले जब अफ्ठ्यारो पर्छ त्यतिबेला बीपीको विचार अगाडि आउने भन्दै उहाँका विचारलाई व्यवहारमै अवलम्वन गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमाले कास्कीका अध्यक्ष एवं संघीय सांसद मनबहादुर गुरुङले नेपाल एउटै धागोमा उनेको फूल र हामी सबै एउटै बगैँचामा फुलेको फूल भएको भन्दै सुखी नेपाली र समृद्ध मुलुक निर्माणमा कांग्रेसले नेतृत्व गर्नुपर्ने खाँचो औंल्याए ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले मुलुकको पछिल्लो अवस्थाका कारण बीपीको नीतिको सान्दर्भिकता बढ्दै गएको बताए ।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शंकर बराल, नेकपा (एकीकृत समाजवादी) का नेता किरण थापा, कास्की कांग्रेसका कास्की कांग्रेसका उपसभापति रामबाबु भण्डारी, सचिव देवेन्द्र रानाभाट लगायतले बीपीको राष्ट्रिय एकता र मेलमिलाप नीतिका बारेमा चर्चा गरेका थिए ।