सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, ओलीले ठोस प्रस्ताव ल्याए छलफल हुने [भिडियो]
जयशंकरको भ्रमणमा सरकारले गर्ने छलफलको एजेन्डाको बारेमा ब्रिफिङ
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
681
Shares
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा सिट सङ्ख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारुढ गठबन्धन दलहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बोलाएको बैठक पनि निष्कर्षविहीन बनेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले आफूसँग राष्ट्रिय सभामा आफूहरू जिरो नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गरेको र त्यसमा एमालेसँग ठोस प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा –एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।
उनले सो विषयमा सत्तारुढ दलहरुबीच कुनै सहमति नभएकाले भोलि (बिहीबार) बिहान नौ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि बताए ।
उपाध्यक्ष पाण्डेले भने, ‘दुई वटा विषयमा छलफल भयो । भोलि भारतीय परराष्ट्र मन्त्री नेपाल आउँदै हुनुहुन्छ । भारतसँग भएको कतिपय सन्धिका कुराहरू छन् । पञ्चेश्वरका विषयहरू छन् । त्यसमा कसरी जाने भन्ने छ । महाकाली सन्धि जो बनेको छ । त्यसमा उल्लेख भएका कुराहरूलाई कसरी हामीले उहाँहरूसँग बसेर कुराकानी मिलाएर जान सकिन्छ ? यी विषयहरूमा प्रधानमन्त्रीले विभिन्न ढङ्गले तयारी गरिरहेको कुरा हामीलाई ब्रिफिङ गर्नु भयो । एक नम्बर कुरा यही हो । दोस्रो कुरालाई यो राष्ट्रिय सभा निर्वाचनका लागि २३ गते उम्मेदवारी दिने स्थिति छ । र, २० सिट खाली भएको छ । र त्यसमा एमाले पार्टीकै प्रतिनिधिहरू रहेको नौ सिट छ । अरू पार्टीले प्राप्त गरेका सिटहरू त विभिन्न ढङ्गले आफ्नो आफ्नो जे हो, त्यो कायमै हो भन्दा पनि हुने भो । तर यो नौ सिटको बारेमा हामी कसरी जान्छौंं भन्ने बारेमा सरसल्लाह भयो । सरसल्लाह टुङ्गिएको छैन । एमालेलाई पनि सो निर्वाचनमा सहभागी गराएर लैजाने कि भन्ने बारेमा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई जिरो नगर्नुस् भने भन्ने खालको कुरा आयो । यो कुरा आएपछि हामीले सबै दलहरूसँग सरसल्लाह गरेर के हो ? उहाँहरूको खास कङ्क्रिट प्रस्ताव के हो ? बुझेर मात्रै टुङ्गो गरौँ भन्ने कुरा भयो । एमालेको ठोस प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो । काँग्रेस र माओवादी बीचको छलफलमा भने केपी ओलीजीले यस्तो प्रस्ताव लिएर आए भने के गर्ने भन्ने विषयमा सम्बन्धित भएर छलफल गरिएको होला । भोलि बिहान फेरि नौ बजे बैठक बस्छ । ’
बैठकमा प्रधानमन्त्री दाहालले भारतीय विदेश मन्त्री एस जयशंकरको नेपालमा हुन लागेको भ्रमण र त्यसमा नेपाल सरकारले गर्ने छलफलको एजेन्डाको बारेमा पनि ब्रिफिङ गरेका थिए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरू सहभागी भएका थिए ।