arrow

भारतले अन्तिम ११ बलमा एक रन नबनाइ ६ विकेट गुमायो, टेष्ट रोमाञ्चक बन्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
rohit-sharma-test-AFP.jpg

काठमाडौँ । दोस्रो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा जसरी दक्षिण अफ्रिका निरीह देखियो त्यसरी नै भारतले पनि विकेट गुमाएर रेकर्ड बनेको छ । 

केपटाउनमा शुरु भएको टेष्टमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २३.२ ओभरमात्र क्रिजमा टिकेर ५५ रन बनाउन सक्यो । 

यो योगफल भारतविरुद्ध सबैभन्दा कम हो । सन् २०१५ मा भारतको नागपुरमा भएको टेष्टमा दक्षिण अफ्रिकाले त्यतिन्जेलको सबैभन्दा कम योगफल ७९ रन बनाएको थियो ।

अहिले भारतले उसकै भूमिमा ५५ रनमा रोकेको हो । दक्षिण अफ्रिका तेस्रो पटक सय भन्दा कम रनमा अलआउट भएको हो । कायल भेरिन्नेले सर्वाधिक १५ तथा डेभिड बेडिङघमले १२ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । त्यसपछिको उच्च स्कोर कागिसो रबाडाको ५ रन रहेको थियो । 

शानदार बलिङ गर्ने क्रममा मोहम्मद सिराजले ९ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ६ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र मुकेश कुमारले २–२ विकेट लिए । 

जवाफमा भारत पनि ३४.५ ओभर क्रिजमा टिकेर १५३ रनमा अलआउट भयो । अचम्म त के भने ४ विकेटको क्षतिमा १५३ रनको स्थितिमा रहँदा ठीकठाक खेलिरहेको भारतले त्यसपछि मात्र ११ बलको सामना गर्यो । र एक रन पनि नजोडी बाँकी रहेका सबै ६ विकेट गुमायो । 

लुंगी एनगिडी र कागिसो रबाडाले बलिङ गरेकामा भारतीय ब्याटिङ ध्वस्त भयो । विराट कोहली ४६ रनमा रहेका अवस्थामै आउट भए । 

भारतका सात खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । कप्तान रोहित शर्मा ३९, शुबमन गिल ३६ रन बनाएर आउट भए भने केएल राहुलले ८ रन बनाए । 

भारतले अतिरिक्तका रुपमा २४ रन पाएको थियो । बलरको दिन रहेको खेलमा दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३–३ विकेट लिए । एक खेलाडी रनआउट भएका थिए । 

पहिलो इनिङ्समा ९८ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा संयमित भएर खेलिरहेको छ । 

भारतले दक्षिण अफ्रिकासँग उसको भूमिमा दुई खेलको टेष्ट श्रृंखला खेलिरहेको हो । पहिलो खेल भने दक्षिण अफ्रिकाले जितेको थियो । 

दोस्रो खेल भारतको पकडमा गएसँगै श्रृंखलामा बराबरी हुने सम्भावना छ । यद्यपि भारतले कस्तो ब्याटिङ गर्छ भन्ने चासोसमेत रहेको छ । 

यसअघि भएको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको थियो भने तीन खेलको एक दिवसीय २–१ ले भारतले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ