arrow

भारत–दक्षिण अफ्रिका टेष्ट, पहिलो दिन ढल्यो २३ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
dean-elgar-mukesh-kumar-AP.jpg
तस्बिर – करियरको अन्तिम टेष्ट खेलेका कप्तान डिन एल्गार र उनलाई आउट गरेका भारतीय बलर मुकेश कुमार ।

काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबीचको केपटाउनमा जारी दोस्रो टेष्ट क्रिकेटमा बलर हावी भएका छन् । बुधबार पहिलो दिन नै २३ विकेट ढलेको छ । दुई दिग्गज टिमबीचको यो पहिलो दिनको पतनलाई अप्रत्याशितको संज्ञा दिइएको छ । सो क्रममा विभिन्न कीर्तिमानसमेत बनेका छन् । 

खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २३.२ ओभरमात्र क्रिजमा टिकेर ५५ रन बनाउन सक्यो । यो योगफल भारतविरुद्ध सबैभन्दा कम हो । सन् २०१५ मा भारतको नागपुरमा भएको टेष्टमा दक्षिण अफ्रिकाले त्यतिन्जेलको सबैभन्दा कम योगफल ७९ रन बनाएको थियो ।

अहिले भारतले उसकै भूमिमा ५५ रनमा रोकेको हो । दक्षिण अफ्रिका तेस्रो पटक सय भन्दा कम रनमा अलआउट भएको हो । कायल भेरिन्नेले सर्वाधिक १५ तथा डेभिड बेडिङघमले १२ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । त्यसपछिको उच्च स्कोर कागिसो रबाडाको ५ रन रहेको थियो । 

शानदार बलिङ गर्ने क्रममा मोहम्मद सिराजले ९ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ६ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र मुकेश कुमारले २–२ विकेट लिए । 

जवाफमा भारत पनि ३४.५ ओभर क्रिजमा टिकेर १५३ रनमा अलआउट भयो । अचम्म त के भने ४ विकेटको क्षतिमा १५३ रनको स्थितिमा रहँदा ठीकठाक खेलिरहेको भारतले त्यसपछि मात्र ११ बलको सामना गर्यो । र एक रन पनि नजोडी बाँकी रहेका सबै ६ विकेट गुमायो । 

लुंगी एनगिडी र कागिसो रबाडाले बलिङ गरेकामा भारतीय ब्याटिङ ध्वस्त भयो । विराट कोहली ४६ रनमा रहेका अवस्थामै आउट भए । 

भारतका सात खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । कप्तान रोहित शर्मा ३९, शुबमन गिल ३६ रन बनाएर आउट भए भने केएल राहुलले ८ रन बनाए । 

भारतले अतिरिक्तका रुपमा २४ रन पाएको थियो । बलरको दिन रहेको खेलमा दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३–३ विकेट लिए । एक खेलाडी रनआउट भएका थिए । 

पहिलो इनिङ्समा ९८ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा पहिलो इनिङ्सको तुलनामा सम्हालिएर खेले पनि दमदार प्रस्तुति भने दिन सकेको छैन । 

यद्यपि १७ ओभरमा ३ विकेटको क्षतिमा ६२ रन जोडेको छ । ओपनर आइडेन मार्करम ५१ बलमा ३६ रन बनाएर अविजित छन् । कप्तान डिन एल्गार १२ रन बनाएर आउट भएका छन् । 

उनको करियरको अन्तिम योगफल १२ मै समेटिएको छ । उनलाई मुकेश कुमारले आउट गरेका थिए । स्पोर्टसम्यानशिप देखाउने क्रममा भारतीय पूर्वकप्तान विराट कोहलीले आउट भएपछि अँगालो मारेका थिए । 

आज दोस्रो दिन मार्करमलाई ६ बलमा ७ रन बनाएर अविजित रहेका डेभिड बेडिङ्घमले साथ दिनेछन् । 

मुकेश कुमारले २ तथा जसप्रित बुमराहले १ विकेट लिएका छन् । मोहम्मद सिराजले ५ ओभरमा २ मेडन राख्दै ११ रन दिए पनि विकेट लिन सकेका छैनन् । 

दोस्रो दिनको खेल शुरु हुनुअघि दक्षिण अफ्रिका ३६ रनले पछाडि छ । 

भारतले दक्षिण अफ्रिकासँग उसको भूमिमा दुई खेलको टेष्ट श्रृंखला खेलिरहेको हो । पहिलो खेल भने दक्षिण अफ्रिकाले जितेको थियो । 

दोस्रो खेल भारतको पकडमा गएसँगै श्रृंखलामा बराबरी हुने सम्भावना छ । यद्यपि भारतले कस्तो ब्याटिङ गर्छ भन्ने चासोसमेत रहेको छ । 

यसअघि भएको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको थियो भने तीन खेलको एक दिवसीय २–१ ले भारतले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ