- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबीचको केपटाउनमा जारी दोस्रो टेष्ट क्रिकेटमा बलर हावी भएसँगै दोस्रो दिनमै छिनोफानो हुने भएको छ ।
बुधबार पहिलो दिन नै २३ विकेट ढलेको स्थितिमा आज दोस्रो दिन पनि लगातार विकेट ढलेसँगै भारतले मात्र ७९ रनको चुनौती पछ्याउँदै छ ।
दुई दिग्गज टिमबीचको यो टेष्टलाई अप्रत्याशितको संज्ञा दिइएको छ । सो क्रममा विभिन्न कीर्तिमानसमेत बनेका छन् ।
दक्षिण अफ्रिकाको पहिलो इनिङ्स
खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २३.२ ओभरमात्र क्रिजमा टिकेर ५५ रन बनाउन सक्यो । यो योगफल भारतविरुद्ध सबैभन्दा कम हो । सन् २०१५ मा भारतको नागपुरमा भएको टेष्टमा दक्षिण अफ्रिकाले त्यतिन्जेलको सबैभन्दा कम योगफल ७९ रन बनाएको थियो ।
अहिले भारतले उसकै भूमिमा ५५ रनमा रोकेको हो । दक्षिण अफ्रिका तेस्रो पटक सय भन्दा कम रनमा अलआउट भएको हो । कायल भेरिन्नेले सर्वाधिक १५ तथा डेभिड बेडिङघमले १२ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । त्यसपछिको उच्च स्कोर कागिसो रबाडाको ५ रन रहेको थियो ।
शानदार बलिङ गर्ने क्रममा मोहम्मद सिराजले ९ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ६ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र मुकेश कुमारले २–२ विकेट लिए ।
भारतको पहिलो इनिङ्स
जवाफमा भारत पनि ३४.५ ओभर क्रिजमा टिकेर १५३ रनमा अलआउट भयो । अचम्म त के भने ४ विकेटको क्षतिमा १५३ रनको स्थितिमा रहँदा ठीकठाक खेलिरहेको भारतले त्यसपछि मात्र ११ बलको सामना गर्यो । र एक रन पनि नजोडी बाँकी रहेका सबै ६ विकेट गुमायो ।
लुंगी एनगिडी र कागिसो रबाडाले बलिङ गरेकामा भारतीय ब्याटिङ ध्वस्त भयो । विराट कोहली ४६ रनमा रहेका अवस्थामै आउट भए ।
भारतका सात खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । कप्तान रोहित शर्मा ३९, शुबमन गिल ३६ रन बनाएर आउट भए भने केएल राहुलले ८ रन बनाए ।
भारतले अतिरिक्तका रुपमा २४ रन पाएको थियो । बलरको दिन रहेको खेलमा दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३–३ विकेट लिए । एक खेलाडी रनआउट भएका थिए ।
दक्षिण अफ्रिकाको दोस्रो इनिङ्स
पहिलो इनिङ्समा ९८ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा पहिलो इनिङ्सको तुलनामा सम्हालिएर खेले पनि दमदार प्रस्तुति भने दिन सकेन ।
दक्षिण अफ्रिकाले ३६.५ ओभर क्रिजमा टिकेर १७६ रन बनाउन सक्यो । केवल ओपनर आइडेन मार्करमले १०३ बलमा १०६ रन बनाएर टिमको लज्जास्पद प्रदर्शनलाई केही हदसम्म ढाक्न सफल भए ।
पहिलो दिन १७ ओभरमा ३ विकेटको क्षतिमा ६२ रन जोडेको दक्षिण अफ्रिकाले दोस्रो दिन ११४ रन जोड्न सफल भएको थियो । दोस्रो ठूलो स्कोरको रुपमा कप्तान डिन एल्गार १२ रन बनाएर आउट भए । उनले अन्तिम टेष्ट खेलेका हुन् । उनको करियरको अन्तिम योगफल १२ मै समेटिएको छ ।
उनलाई मुकेश कुमारले आउट गरेका थिए । यसअघि पहिलो इनिङ्समा उनले ४ रन बनाएका थिए । स्पोर्टसम्यानशिप देखाउने क्रममा भारतीय पूर्वकप्तान विराट कोहलीले आउट भएपछि एल्गारलाई अँगालो मारेका थिए ।
दोस्रो इनिङ्समा बुमराह चम्केका छन् । उनले ६ विकेट लिएका छन् । मुकेश कुमारले २ तथा मोहम्मद सिराज र प्रसिद्ध कृष्णले १–१ विकेट लिएका छन् ।
भारतले दक्षिण अफ्रिकासँग उसको भूमिमा दुई खेलको टेष्ट श्रृंखला खेलिरहेको हो । पहिलो खेल भने दक्षिण अफ्रिकाले जितेको थियो ।
दोस्रो खेल भारतको पकडमा गएको छ ।
यसअघि भएको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको थियो भने तीन खेलको एक दिवसीय २–१ ले भारतले जितेको थियो ।