arrow

भारत–दक्षिण अफ्रिका टेष्ट डेढ दिनमै सकियो, भारतको कीर्तिमानी जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
test-india-2024-01-03-AFP.jpg

काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबीचको केपटाउनमा भएको दोस्रो टेष्ट क्रिकेट डेढ दिनमै सकिएको छ । बलर हावी भएसँगै डेढ दिनमै भारतले खेल ७ विकेटले जितेको हो । 

७९ रनको चुनौती भारतले टी–२० को शैलीमा खेल्दै १२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । यो भारतको कीर्तिमानी जित हो । भारतले अहिलेसम्म केपटाउनमा दक्षिण अफ्रिकालाई टेष्टमा हराउन सकेको थिएन । 

केपटाउनमा दक्षिण अफ्रिकालाई हराउने भारत पहिलो एसियाली टिमसमेत बनेको छ । बुधबार पहिलो दिन २३ विकेट ढलेको खेलमा दोस्रो दिन १० विकेट ढलेको थियो । 

दुई दिग्गज टिमबीचको यो टेष्टलाई अप्रत्याशितको संज्ञा दिइएको छ । यो खेल चार इनिङ्स गरी १०७ ओभरको मात्र खेल भएको छ । सो क्रममा विभिन्न कीर्तिमानसमेत बनेका छन् । 

टेष्ट क्रिकेटको १४७ वर्षको इतिहासमा २५ पटक खेल दुई दिनमै सकिएको छ । भारतले तेस्रो पटक यो रेकर्ड राखेको छ । तीनै खेल भारतले जितेको छ । 

टेष्ट क्रिकेट सन् १८७७ मा शुरु भएको थियो । अहिलेसम्म २५२२ टेष्ट खेलिएको छ । मात्र २५ पटक दुई दिनमै सकिएको हो । 

दक्षिण अफ्रिकाको पहिलो इनिङ्स
खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २३.२ ओभरमात्र क्रिजमा टिकेर ५५ रन बनाउन सक्यो । यो योगफल भारतविरुद्ध सबैभन्दा कम हो । सन् २०१५ मा भारतको नागपुरमा भएको टेष्टमा दक्षिण अफ्रिकाले त्यतिन्जेलको सबैभन्दा कम योगफल ७९ रन बनाएको थियो ।

अहिले भारतले उसकै भूमिमा ५५ रनमा रोकेको हो । दक्षिण अफ्रिका तेस्रो पटक सय भन्दा कम रनमा अलआउट भएको हो । कायल भेरिन्नेले सर्वाधिक १५ तथा डेभिड बेडिङघमले १२ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । त्यसपछिको उच्च स्कोर कागिसो रबाडाको ५ रन रहेको थियो । 

शानदार बलिङ गर्ने क्रममा मोहम्मद सिराजले ९ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ६ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र मुकेश कुमारले २–२ विकेट लिए । 

भारतको पहिलो इनिङ्स
जवाफमा भारत पनि ३४.५ ओभर क्रिजमा टिकेर १५३ रनमा अलआउट भयो । अचम्म त के भने ४ विकेटको क्षतिमा १५३ रनको स्थितिमा रहँदा ठीकठाक खेलिरहेको भारतले त्यसपछि मात्र ११ बलको सामना गर्यो । र एक रन पनि नजोडी बाँकी रहेका सबै ६ विकेट गुमायो । 

लुंगी एनगिडी र कागिसो रबाडाले बलिङ गरेकामा भारतीय ब्याटिङ ध्वस्त भयो । विराट कोहली ४६ रनमा रहेका अवस्थामै आउट भए । 

भारतका सात खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । कप्तान रोहित शर्मा ३९, शुबमन गिल ३६ रन बनाएर आउट भए भने केएल राहुलले ८ रन बनाए । 

भारतले अतिरिक्तका रुपमा २४ रन पाएको थियो । बलरको दिन रहेको खेलमा दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३–३ विकेट लिए । एक खेलाडी रनआउट भएका थिए । 

दक्षिण अफ्रिकाको दोस्रो इनिङ्स
पहिलो इनिङ्समा ९८ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा पहिलो इनिङ्सको तुलनामा सम्हालिएर खेले पनि दमदार प्रस्तुति भने दिन सकेन । 

दक्षिण अफ्रिकाले ३६.५ ओभर क्रिजमा टिकेर १७६ रन बनाउन सक्यो । केवल ओपनर आइडेन मार्करमले १०३ बलमा १०६ रन बनाएर टिमको लज्जास्पद प्रदर्शनलाई केही हदसम्म ढाक्न सफल भए । 

पहिलो दिन १७ ओभरमा ३ विकेटको क्षतिमा ६२ रन जोडेको दक्षिण अफ्रिकाले दोस्रो दिन ११४ रन जोड्न सफल भएको थियो । दोस्रो ठूलो स्कोरको रुपमा कप्तान डिन एल्गार १२ रन बनाएर आउट भए । उनले अन्तिम टेष्ट खेलेका हुन् । उनको करियरको अन्तिम योगफल १२ मै समेटिएको छ । 

उनलाई मुकेश कुमारले आउट गरेका थिए । यसअघि पहिलो इनिङ्समा उनले ४ रन बनाएका थिए । स्पोर्टसम्यानशिप देखाउने क्रममा भारतीय पूर्वकप्तान विराट कोहलीले आउट भएपछि एल्गारलाई अँगालो मारेका थिए । 

दोस्रो इनिङ्समा बुमराह चम्केका छन् । उनले ६ विकेट लिएका छन् । मुकेश कुमारले २ तथा मोहम्मद सिराज र प्रसिद्ध कृष्णले १–१ विकेट लिएका छन् ।

भारतको दोस्रो इनिङ्स
भारतले ७९ रनको चुनौती १२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारतका लागि यशश्वि जयसवालले २३ बलमा २८ रन बनाए । 

विराट कोहलीले ११ बलमा १२ रन बनाए । शुबमन गिलले ११ बलमा १० रन बनाए । रोहित शर्मा २२ बलमा १७ तथा श्रेयस अय्यर ६ बलमा ४ रन बनाएर अविजित रहे । 

भारतले यो खेल जितेसँगै दुई खेलको टेष्ट श्रृंखलामा १–१ को बराबरी भएको छ । पहिलो खेल भने दक्षिण अफ्रिकाले जितेको थियो । 

यसअघि भएको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको थियो भने तीन खेलको एक दिवसीय २–१ ले भारतले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ