arrow

आधुनिक अल्लो उद्योग बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
allo-myagdi-haripanta.jpg

पर्वत । पर्वतको विकट गाउँको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट कपडा बनाउन नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको थियो । अहिले बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि उद्योग अलपत्र बनेको हो ।

पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा मोदी गाउँपालिका-३ देउरालीस्थित घुरुङ्गामा भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग खोलिएको थियो । विसं २०७४ फागुनदेखि सञ्चालनमा आएको उद्योग २०७८ सालदेखि बन्द गरिएको हो ।

परम्परागतरूपमा अल्लोको लोक्तालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय तथा लागतसमेत अत्यधिक पर्न थालेपछि लघुउद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको भए पनि बढ्दो बसाइँसराइका कारण जनशक्ति कम हुँदै जानु र उत्पादन गरेको अल्लोले समेत राम्रो बजार नपाएपछि बन्द गर्नुपरेको स्थानीय टेकबहादुर पुनले बताए ।

तत्कालीन समयमा झण्डै रु २० लाखको लागतमा उद्योग सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको केही वर्ष यहाँबाट राम्रैसँग उत्पादन गर्न सफल भए पनि विस्तारै वनमा जाने, अल्लो सङ्कलन गर्ने र उद्योगमा ल्याएर प्रशोधन गर्ने जनशक्तिको अभाव भएपछि बन्द गर्नुपरेको उद्यमी रनमाया पुनले बताइन् ।

उक्त उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने भए पनि कच्चा पदार्थ सङ्कलन गर्ने जनशक्ति नहुँदा बन्द गर्नुपरेको उद्यमी पुनले बताइन् ।

यहाँबाट उत्पादित अल्लोको कपडासमेत बिक्री गर्न समस्या भएपछि गत वर्ष मोदी गाउँपालिकाले दुई सय मिटर कपडा खरिद गरिदिएको स्थानीय गमबहादुर पुनले बताइन् ।

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने व्यवस्था उद्योगमा थियो । परम्परागतरूपमा प्रशोधन गर्दा थोरै उत्पादनका लागि धेरै लागत र शारीरिक श्रम लाग्ने तथा समय बढेकाले नाफा कमाउन कठिन भएको भन्दै खोलिएको उद्योग बन्द भएपछि अहिले गाउँमा केही महिलाले परम्परागतरूपमै अल्लो प्रशोधन गरेर निर्वाहमुखी रूपमा पेसालाई जोगाउँदै आएका छन् ।

अहिले पुरानै तरिकाबाट अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपर्दा धेरै श्रम तथा समय लाग्ने गरेको उद्यमी पुनले बताइन् ।

जिल्ला लघुउद्यमी सङ्घका पूर्वअध्यक्ष सेती महतले गाउँबाट बसाइँ सर्ने दर बढेसँगै सञ्चालित आधुनिक यन्त्रसहितको उद्योग पनि बन्द भएको बताइन् । महतले लघुउद्यमीलाई नयाँ प्रविधि, सीप र पुँजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताइन् ।

रोजगारीका अवसर र गुणस्तरीय शिक्षाको खोजीमा गाउँबाट बसाइँसराइ दर बढेको छ । करिब ५२ घरधुरी रहेको यो घुरुङ्गा गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास छ ।

गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले स्थानीय महिला सक्रिय भएर उद्यम सञ्चालन गर्न चाहेमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताए ।

व्यावसायिकरूपमा उद्योग सञ्चालन गर्न सकेमा अल्लोको कपडा बिक्रीबाट वार्षिक लाखौँ आम्दानी गर्न सकिने भएकाले गाउँपालिकामा उत्पादित कपडाको बजारीकरण र उद्योग सञ्चालनका लागि आर्थिक सहयोग गर्न तयार रहेको बताए ।

यहाँका उत्तरी क्षेत्रका शालिजा, लेखफाँट, क्याङ, देउराली, भुकताङ्ले र बनौमा अल्लो प्रशस्त पाइने भएकाले यस क्षेत्रका महिला यसबाट बन्ने कपडा बनाउने उद्यम गर्दै आएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ