arrow

बेथानचोक हाजिरीजवाफमा पार्वती मावि पहिलो

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० पुष २१ शनिबार
bethanchowk-quiz-contest.jpg

काभ्रेपलान्चोक । बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

वडा नं ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मावि प्रथम कृष्ण गोपाल मावि द्वितीय एवम् भूमिमाता मावि तृतीय भएको छ । 

यस्तै चक्रेश्वर माविले सान्त्वनामा चित्त बुझाएको छ । यस्तै चित्रकला (कक्षा १–५) तर्फ पार्वती मावि प्रथम भएको छ भने भीमसेनेश्वर मावि, द्वितीय, सरस्वती मावि भुग्देउ तृतीय भए । गोरखनाथ प्राविले सान्त्वना स्थान हासिल गरेको छ ।

 कार्यक्रममा विजयीहरुलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने यस प्रकारका प्रतिस्पर्धात्मक प्रतियोगिताले बेथानचोकका विद्यार्थीहरु देशैभरका ७ सय ५३ वटै पालिकामा रहेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताए । 

उनले अभिभावकहरुसँग कार्यक्रमहरु सुझावका रुपमा माग्दै रचनात्मक कार्यक्रमहरु शैक्षिक क्यालेण्डर बनाएर अघि बढ्ने बताए । उनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताए । 

कार्यक्रममा वडा नं। ५ का अध्यक्ष राजकुमार वाइबाले मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले वैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै पालिका स्तरीय प्रतिस्पर्धाले प्रतिभा उत्पादन हुने बताए । उनले गाउँपालिकाले विभिन्न गतिविधि छुट्टाछुट्टै वडाहरुमा गरिदै जाने नीति लिएकोमा यी २ प्रतियोगिता आफ्नो वडामा सञ्चालन गरेको जानकारी दिए । 

कार्यक्रममा आत्मविकास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगत तामाङले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ६ नं वडाका अध्यक्ष विष्णु तामाङ, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राई लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ