- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बैठक बस्न लागेको हो ।
बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभामा हुने १९ सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्नु हो । राष्ट्रपतिले मनोनित गर्ने १ जनासहित २० जनाको पदावधि फागुनमा सकिँदैछ ।
त्यसअघि माघ ११ गते १९ जनाका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कसरी जाने भन्ने यकिन अझै भइसकेको छैन ।
कांग्रेस सत्तागठबन्धनमा भएकाले यसपालि पनि चुनावी तालमेल हुने देखिन्छ । तर कांग्रेसले कति सिट पाउने भन्ने यकिन भएको छैन ।
यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने एमालेलाई पनि समेट्नु पर्नेमा जोड दिएका छन् । यसमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहमत छन् । तर गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने राजी छैनन् ।
एमालेले शुक्रबार मात्रै १९ जना नै उम्मेदवार उठाउने निर्णय गरेको छ । यदि गठबन्धन कायम रहे एमालेको एक सिट पनि आउँदैन । उसले आन्तरिक रुपमा गठबन्धन फुटाउन खोजिरहेको छ ।
त्यसो गर्दा उसलाई फाइदा हुन सक्छ । अर्कातर्फ गठबन्धन हुँदा यसअघि जुन दलले जति सिट जितेको थियो त्यति पाउने र एमालेको ९ सिटमा भागबण्डा गर्ने पुरानो सहमति रहेको छ ।
तर संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसदबाट पारित गर्नुपर्ने विषयलाई ध्यानमा राखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्ष एमालेलाई पनि सिट दिनुपर्नेमा रहेका छन् ।
एमालेले भने बाहिर बाहिर टीआरसीमा सहमति हुन नसक्ने जनाएको छ ।
यो परिस्थितिबीच कांग्रेसले आज कस्तो निर्णय गर्छ भन्ने पाटो महत्वपूर्र्ण रहेको छ ।
उम्मेदवार छान्न पार्टीले बनाएको मापदण्ड
कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीबाट उम्मेदवार छनोट गर्दा अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा पार्टीका योगदान दिएका तर अहिलेसम्म कहिँ कतै अवसर नपाएकालाई र ल्याटरल इन्ट्रिमा गएर योग्य मानिसलाई ल्याउन जोड दिइएको थियो ।
केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताए । उनका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि बताए ।
कस्तो हुनुपर्छ मापदण्ड ?
कांग्रेसले बनाउनु पर्ने मापदण्डको सूत्र छ । यसका लागि पहिले राष्ट्रिय सभाको महत्व बुझ्नु जरुरी छ ।
राष्ट्रिय सभा सबैभन्दा पहिले बेलायतबाट हाउस अफ लर्डस भनेर शुरु भएको हो । त्यहाँ शुरुआतमा कुलिन घरानाका मान्छेहरु र धर्माधीकारीहरु सहितलाई लिएर आइन्थ्यो । त्यसैगरी बौद्धिक वर्गका मानिसहरुलाई पनि लिएर आइन्थ्यो ।
त्यसपछि वेष्ट मिनिस्टर शैलीकै भनेर अन्य देशहरुमा कतिपय ठाउँमा धर्माधीकारीहरु नै ल्याइन्छ भने धेरैजसो ठाउँमा बौद्धिक वर्गहरु नै ल्याइने गरिन्छ ।
राजनीतिमा पनि त्यस्तो किसिमका बौद्धिक र अनुभवी विज्ञहरु नै हुने गर्दछन् । भारतमा पनि त्यो अभ्यास छ । केही राजनीतिज्ञ त हुन्छन् नै । जस्तो प्रधानमन्त्री नै बन्नुपर्ने मान्छे चुनावमा भएन भने पार्टीको नेता अपरहाउसमा आएर प्रधानमन्त्री बनेका पनि छन् ।
तर नेपालमा राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न पाइँदैन । भारतमा राजनीतिक मूलधारका लिएर आउँदा पनि आईके गुजराल, मनमोहन सिंह अपरहाउसमा आएका थिए ।
अब कांग्रेसले पनि यही धार पकड्नु जरुरी छ । पार्टीका कार्यकर्ता कुनै विषयका विज्ञ हुन् र उनीहरुले पनि केही गर्न सक्छन् भने तिनीहरुलाई पनि समेट्नु जरुरी छ ।
तर पछिल्लो समय जसरी ‘ल्याटरल इन्ट्रि’ मा विश्वभर नै चर्चा भइरहेको छ त्यसरी नै नेपालको राष्ट्रिय सभामा पनि ल्याउन सक्ने हो भने संसदको गरिमा बढ्ने छ ।
प्रतिनिधि सभाका जस्तै सांसदहरु आउने हो भने त्यसले राष्ट्रिय सभालाई पनि बिगार्ने निश्चित छ ।
यसरी मूलधारको राजनीतिमा कार्यक्षमता नभएका मानिसहरु आउँदै जाने र काम पनि हुन नसक्ने हो भने त्यसले ठूलो दुर्घटना निम्त्याउँछ नै ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग मिलेर सरकार चलाउँदा अनुभवी पूर्व अर्थमन्त्रीहरु हुँदासमेत उनले पूर्व गभर्नर डा. युवराज खतिवडालाई बनाए ।
त्यसरी नै खोज्नु जरुरी छ । भलै खतिवडाको कार्यकाल कस्तो भयो त्यो जगजाहेर छ । तर काम गर्न खोज्ने र भिजन भएकालाई राष्ट्रिय सभामा ल्याउने हो भने देशको गरिमा पनि रहने छ ।
केही दिनअघि भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीबाट मन्त्री भएका आठ जना मन्त्रीहरुलाई गरेका राम्रा आठ काम सुनाउन भन्दा कसैले पनि सकेनन् । अर्थात् केही काम नै भएको छैन ।
कम्तीमा राष्ट्रिय सभामा सक्षमहरुलाई लिएर जाने हो र ल्याटरल इन्ट्रि दिने हो भने त्यस्तालाई मन्त्री बनाउँदा कांग्रेसलाई त फाइदा हुन्छ नै समग्र देशको गौरव पनि बढ्न जान्छ ।
अस्तिर राजनीति ठाउँमा आउन सक्छ । जनमानसमा फैलिएको दलहरुप्रतिको वितृष्णा कम हुन सक्छ ।
यसले नै संसदीय गरिमा पनि बढाउन सक्छ ।
अझै पनि झोले, आफ्नो चाकडीमा समय खर्चने, खल्तीका आफन्त र क्षमता भन्दा बाहिरका कुरा गर्ने गफाडी, भ्रष्टाचारमा लिप्त, सुशासनदेखि टाढा भाग्ने, आपराधिक कार्यमा सरिक हुनेलाई छानी छानी खोज्ने हो भने कांग्रेसका दिनगन्ती पनि टाढा छैनन् ।