arrow

आफ्नो उपस्थिति देखाउन एमाले काठमाडौँ केन्द्रित आन्दोलनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
uml-cpn.jpg

काठमाडौं । हालै मध्यपहाडी राजमार्ग केन्द्रित संकल्प यात्रा गरेको प्रमुख विपक्ष दल नेकपा एमालेले जनवर्गीय संगठनमार्फत काठमाडौँ केन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य शुरु गरेको छ । 

सरकार परिवर्तन गर्न बहुमत सिद्ध गर्न आवश्यक संख्या नपुगेका बेला जनता माझ आफ्नो उपस्थिति देखाउन एमालेले जनवर्गीय संगठन मार्फत आन्दोलनको तयारी गरेको हो ।  

‘सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै एमालेले आन्दोलनको गृहकार्य शुरु गरिरहेको छ’, एमाले महासचिव शंकर पोखरेलले भने । 

जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सबै जनसंगठनहरूलाई आन्दोलनको गृहकार्य अगाडि बढाउन निर्देशन पनि दिइसकेका छन् । 

सरकारको गैरजिम्मेवारीले सीमा नाघेका कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ थियो । 

केही दिनअघि बसेको संयन्त्रको बैठककमा जनसंगठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने गरी तयारी गर्न निर्देशन दिएपछि आन्दोलनका अजेण्डाहरु तय गर्ने गरी जनसंगठनले आफ्नो कमिटीमा छलफल गरिरहेका छन् । 

‘सरकार हरेक क्षेत्रमा असफल भयो, मुलुकको स्वाधीनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेको छ, अब यो सरकारलाई ठेगान लगाउने गरी आन्दोलनको तयारीमा जुटनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको छ’, महासचिव पोखरेलले जनसंगठनको बैठकमा भनेका थिए । 

उनका अनुसार निकट भविष्यमा राजधानी केन्द्रित भएर केही गतिविधि गर्नुपर्छ यसका लागि सबै जनसंगठनले तयारी गर्न आवश्यक रहेको र तयारीपछि पार्टीले निर्देशन दिनेछ । 

सरकारबाट बाहिर बसेको एमालेले यसअघि पनि विभिन्न कार्यक्रमहरु गरिरहेको थियो । संसद र संसद बाहिर सरकारविरुद्ध गरिएका कार्यक्रमहरु असफल भैरहेका छन् । 

‘कांग्रेसले गठबन्धन नछाड्दासम्म सरकार परिवर्तन हुने अवस्था छैन एमालेले गर्ने भनेको आन्दोलन आफ्नो उपस्थिति मात्रै हो’, एमालेका एक पदाधिकारीले भने । 

उनका अनुसार सरकारभित्र असन्तुष्टि भए पनि एमाले विरुद्धको मोर्चाबन्दीमा गठबन्धन दल एक भएको अवस्थामा आन्दोलन गरेपनि कुनै पार लाग्दैन । ‘आन्दोलन सरकार ढाल्न होइन आफ्नो उपस्थिति कायम राख्न हो, जनवर्गीय संगठनलाई परिचालन गर्न हो’, ती पदाधिकारीले भने । 

पार्टीले जिल्ला सम्मेलन पनि गरिरहेको र सम्पर्क मञ्चहरुको पनि सम्मेलन गरिरहेकाले सकेसम्म त्यस्ता फोरमलाई नै आन्दोलनको रुपमा अघि बढाउने गरी अघि बढ्ने एमालेको नीति रहेको छ । 

गठबन्धन टुटाउनका लागि माओवादी र कांग्रेसमध्ये कुनै एक दल बाहिर नआई एमाले सत्तामा जान नसक्ने भएकाले अहिले आफ्नो उपस्थिति जनतामाझ राख्न पनि एमाले विभिन्न कार्यक्रमहरु बाहिर ल्याउन लागेको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ